• होमपेज
  • बैंकिङ्ग
  • रेमिट्यान्समा रेकर्ड ब्रेक : एक महिनामै नेपाल भित्रियो २ खर्ब

रेमिट्यान्समा रेकर्ड ब्रेक : एक महिनामै नेपाल भित्रियो २ खर्ब

  • आइतवार, मंसिर १, २०८२
रेमिट्यान्समा रेकर्ड ब्रेक : एक महिनामै नेपाल भित्रियो २ खर्ब

नेपाल भित्र्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) उच्च दरमा वृद्धि भएको छ । तीन महिनामै साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को असोजसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणले यस्तो देखाएको हो ।चालु आवको तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल आएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ३४.४ प्रतिशत धेरै हो । गत आवको असोज मसान्तसम्म कुल ४ खर्ब ८ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ मात्रै भित्रिएको थियो । गत आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर १९.९ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार असोजमा मात्रै २ खर्ब १ अर्ब २२ करोड बढी रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च हो । मासिक रुपमा यति ठुलो आकारमा रेमिट्यान्स हालसम्म आएको छैन् । गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ मात्रै रेमिट्यान्स आएको थियो ।

विशेषगरि नेपालीहरुको ठुला दुई चाडपर्वका कारण पनि रेमिट्यान्स उल्लेख्य बढेको हो । यो वर्षको दशैं असोज १६ गते थियो । तिहार पनि कात्तिकको पहिलो साता नै परेको थियो । नेपालका दुई ठुला पर्वका कारण पनि रेमिट्यान्स वृद्धि भएको हो ।

गत भदौमा पनि १ खर्ब ७४ अर्ब ६७ करोड र साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको आँकडा छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशत बढेर ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०।६ प्रतिशत बढेको थियो ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या पनि उत्तिकै बढ्दो छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्सको आकार पनि बढ्दै आएको हो ।

तीन महिनामै १ लाख २३ हाजर ४५९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । यो संस्थागत र व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या हो । नयाँ श्रम स्वीकृति लिनेको संख्या गत वर्षको तुलनामा ११.५७ प्रतिशत वृद्धि भएको छ । जबकि, गत वर्षको असोज मसान्तसम्म कुल १ लाख १० हजार ६५४ जनाले श्रम स्वीकृति लिएका थिए ।

यता, पुन: श्रम स्वीकृति लिनेको संख्या पनि २८.८९ वृद्धि भई ७७ हजार २५७ पुगेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो संख्या ५९ हजार ९३९ जना रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार