नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडलले बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षहरुलाई अर्थतन्त्र, कर्जा प्रवाह, लगानी वातावरण र डिजिटल रूपान्तरणसँग जोड दिनु पर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को छैठौ साधारण सभामा गभर्नर पौडेलले वर्तमान चुनौती, कमजोरी र सुधारका दिशा एक–एक गरी औंल्याउँदै अबको यात्राको बारे स्पष्ट धारण ब्यक्त गरेका हुन् ।
अहिले बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो चुनौती खराब कर्जा र गैरबैंकिङ सम्पत्ति रहेको गभर्नर पौडलले बताए । ‘हाम्रो चाहना देशको अर्थतन्त्र अघि बढोस् भन्ने हो, तर भनेजस्तो नतिजा आइरहेको छैन’ उनले मौद्रिक नीतिबाट धेरै सुधारका कदम चालिए पनि कर्जा सदुपयोगमा समस्या देखिएको बताए । विशेषगरी कृषि क्षेत्रमा माटो सुहाउदो ऋण भनेर प्रवाह भएको कर्जा कृषिमा प्रयोग भइहेको छ कि विदेश जानका लागि मोडिएको हो भन्ने बारे बैंकहरूले कडाइका साथ ध्यान दिनुपर्ने उनको टिप्पणी थियो ।
यस्तै, खराब कर्जा बढ्नुका पछाडि बैंकको कर्जा शाखाको कार्यशैली, कर्जा दिने प्रक्रियामा अपनाइने शीर्षक र कर्जा वास्तविक क्षेत्रमै प्रयोग भए–नभएको विषयमा व्यापक समीक्षा अपरिहार्य भएको उनले बताए । राष्ट्र बैंकले हाल बैंकहरुको कर्जा अभ्यास, जोखिम व्यवस्थापन र प्रभावकारिता मापनका विषयमा गहिरो छलफल गर्दै आएको उनले जानकारी दिए । ‘खराब कर्जा बढ्नुमा धेरै क्षेत्रका समस्याले असर गरेको देखिन्छ । जोखिम व्यवस्थापन कस्तो छ ? कडा भइरहेको छ कि नराम्रो ? हामी अध्ययन गर्दैछौं’ उनले भने ।
गभर्नरले चेक बाउन्स सम्बन्धी विषय पनि उठाउँदै यसमा समेत पुनरावलोकन (रिभ्यु) आवश्यक भएको उल्लेख गरे । राष्ट्र बैंकले केही महिनादेखि यस विषयमा विशेष निगरानी गरिरहेको जानकारी पनि दिए ।
यता, बैंकहरुको अर्को समस्या शाखा स्थापना रहेको बताउँदै गभर्नरले विगतमा शाखा खोल्दा तोकिएका प्रावधान र वर्तमान अभ्यासको तुलनामा सुधारको आवश्यकता रहेको बताए । राष्ट्र बैंकको दायित्व बैंक तथा वित्तीय संस्था नाफामा चल्नु पर्ने भएकाले शाखा सञ्चालनमा पनि बैंकले जिम्मेवारीका साथ ध्यान दिनुपर्ने उनको भनाइ थियो । मौद्रिक नीतिमा समेत यी विषय समावेश गरिएको उनले स्मरण गराए ।
पौडलले जोखिम व्यवस्थापन क्षमता, बैंक तथा वित्तीय संस्थाको प्रदर्शन र समग्र प्रणालीको दक्षता सुधार आवश्यक रहेको दोहोराए । अहिले लगानीका धेरै क्षेत्र बन्द हुँदै गएको अवस्थाले बैंकिङ क्षेत्रमा थप चुनौती देखिएको पनि उनले खुलाए । ‘पहिले बैंक, बीमा, एयरलाइन्स, टेलिकम, विद्यालय, हस्पिटल, घरजग्गा लगायतमा लगानी हुन्थ्यो । तर पछिल्लो समय यी क्षेत्रमा लगानी बन्द छ । कित्ताकाट पनि बन्द भएपछि रियलस्टेट सुस्त भयो । विद्यालय, हस्पिटल सबै बन्द भए । अब के मा लगानी गर्ने त ? ‘ उनले भने ।
उनले बैंकहरुलाई डिजिटल र एआई-आधारित रूपान्तरण तर्फ अग्रसर हुन आह्वान गरे । विश्व नै प्रविधिमा तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै डिजिटलाइजेसन र एआईमा आधारित वित्तीय प्रणाली आधुनिक आवश्यकता भएको बताए । यसका लागि प्राविधिक पूर्वाधार विकासलाई अनिवार्य मान्दै उनले ‘जति सकिन्छ टेक्नोलोजीमा अगाडि बढ्नुपर्ने’ सुझाव दिए ।
गभर्नरका अनुसार कर्जाको सही सदुपयोगमा जोड दिनु अत्यावश्यक छ । ‘बैंकको पैसा व्यवसायका लागि जानुपर्छ बैंकको पैसा व्यवसायमै जानुपर्छ’ उनले टिप्पणी गरे । लगानी योग्य वातावरण सिर्जना गर्न बैंकहरुले आन्तरिक सुधार, जोखिम मूल्यांकन र क्षेत्र पहिचानमा सक्रिय हुनुपर्ने उनको भनाइ थियो । उनले थपे, ‘परेको सबै सहयोग राष्ट्र बैंकले गर्छ । लगानीका नयाँ ठाउँ खोज्नुहोस् । आइटीमा लगानी गर्नुहोस् । कहाँ वातावरण छ त्यो खोज्नुहोस् । बाधा छ भने बताउनुहोस्, सँगै सहकार्य गरेर अघि बढौं ।’
गभर्नर पौडलले भविष्यका चुनौतीसँग जुध्न सक्ने गरी बैंकहरुले नीतिसँग मेल खाने लगानी गर्नुपर्ने, नयाँ आइडिया र आधुनिक अवधारणालाई अपनाउनुपर्ने र विभिन्न शुल्क तथा कर्जा–सम्बन्धी समस्यामा राष्ट्र बैंक सहयोग गर्न तत्पर रहने बताए ।