एनएमबि बैंकले कर्मचारीहरुको लागि स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ । बैंकले कर्मचारीहरुको लागि तह अनुसार २४ देखि ३० महिनासम्मको सेवासुविधा सहित भीआरएस योजना ल्याएको हो ।
बैंकको उक्त योजना २ साताको लागि ल्याएको थियो । कात्तिक २५ गतेसम्म रहेको उक्त योजनामा करिब ८० जनाले आवेदन दिएका छन् । बैंकको तह अनुसार अफिसरदेखि तलका कर्मचारीलाई ३० महिनाको सेवासुविधा सहित भीआरएस योजना ल्याएको हो । त्यस्तै
अफिसर र सिनियर अफिसरलाई २७ महिना र सिनियर अफिसरदेखि माथि डिजीएमसम्मका लागि २४ महिनाको सेवासुविधा दिनेगरी भीआरएस योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बताए ।
उक्त योजनामा करिब ८० जनाले आवेदन दिएका छन् । बैंकबाट जागिर छोड्न चाहनेहरुका लागि एउटा अप्सन दिएर नयाँ युवालाई बैंकले ल्याउन खोजेको प्रमुख कार्यकारी अधिकृत घिमिरे बताउँछन् । कतिपय विभागमा नयाँ कर्मचारी आवश्यक नहुन पनि सक्ने र आवश्यक भएको ठाउँमा युवाले अवसर पाउने उनले बताए ।
बैंकले मर्जरको समयमा मर्जर भएर आउने बैंकका कर्मचारीलाई भीआरएस दिएको थियो भने मर्जरपछि भीआरएस दिएको थिएन । बैंकले ओम डेभलमेन्ट बैंक र त्यसअघि पनि केही साना बैंकलाई मर्जर गरेको थियो ।