सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरूलाई आधुनिक र सहज बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यका साथ नयाँ डिजिटल ऋण योजना ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ सार्वजनिक गरेको छ । बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि ल्याइिएको यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ ।
यस योजनामार्फत साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा प्रदान गरिनेछ । सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गत व्यवसायले कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्टको रूपमा कारोबार गरेको हुनुपर्नेछ । योग्य ग्राहकहरूले आफ्नो ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ, जसको भुक्तानी मासिक किस्तामा गर्नुपर्नेछ ।
सिटिजन्स बैंकले यो नयाँ डिजिटल ऋण सुविधामार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाउने र उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ । बैंकका प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातीले ‘क्यूआर मर्चेन्ट लोन’ योजना बैंकको डिजिटल वित्तीय सेवामा एउटा कोसेढुङ्गा सावित भएको बताउँदै यसले ग्राहक र बैंकबीचको सम्बन्ध अझ सहज र गतिशील बनाउने विश्वास व्यक्त गरे ।