गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा मोबाइल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । यससँगै बैंकका ग्राहकहरूले आफ्नै मोबाइलमार्फत नयाँ प्रकारको डिजिटल भुक्तानी सुविधा उपभोग गर्न सक्ने भएका छन् ।
ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपछि उक्त सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सक्रिय गर्न सक्नेछन् । भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे नेटवर्कमा उपलब्ध कुनै पनि क्यूआर कोडमार्फत सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
भर्चुअल क्रेडिट कार्डमा न्यूनतम १० हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्मको क्रेडिट सीमा रहनेछ । साथै, ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न सक्नेछन् । हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प पनि उपलब्ध छ ।
भौतिक कार्ड नभई मोबाइल बैंकिङ एपमार्फत भर्चुअल रूपमा उपलब्ध हुने यस सेवाले ग्राहकलाई थप सुरक्षित, सहज र आधुनिक डिजिटल बैंकिङ अनुभव दिलाउने विश्वास बैंकले व्यक्त गरेको छ । गरिमा विकास बैंकले हाल देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटिएमसहित नवीनतम डिजिटल बैंकिङमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।