• होमपेज
  • फिचर
  • गुरुङ समुदायमा मनाइयो ट्होटेँ

गुरुङ समुदायमा मनाइयो ट्होटेँ

  • मङ्लबार, साउन २८, २०८२
गुरुङ समुदायमा मनाइयो ट्होटेँ

आज साउनको अन्तिम मङ्गलबार अर्थात् गुरुङ समुदायको मौलिक पर्व ट्होटेँ मनाउने दिन । बर्सेनि साउन र चैतको अन्तिम मङ्गलबार गण्डकी प्रदेशका गुरुङ बाहुल्य बस्तीमा यस पर्वलाई उल्लासपूर्वक मनाउने गरिन्छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरूप ट्होटेँ पर्वको सुरूआत भएको मानिन्छ ।

गुरुङ सभ्यतासँग जोडिएको ट्होटेँ पर्व एक हजार ५०० सय वर्षदेखि अस्तित्वमा रहेको तमु धिँ नेपालका केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभागका प्रमुख कृष्णकुमार गुरुङले बताउनुभयो । आदिमकालमा गुरुङहरू गुफा, गोठहुँदै बस्ती विकासको सभ्यतामा आएपछि यो पर्वको सुरूआत भएको उहाँको भनाइ छ । “बस्ती विकास हुँदै तमु राज्य स्थापनाको बेलामा आइपुग्दा ट्होटेँ पर्वले अझ व्यापकता पाउँदै गयो”, प्रमुख गुरुङले भन्नुभयो, “ट्होटेँ गुरुङ बस्ती र राज्यमा दुःख दिने शत्रुवैरीलाई धपाउनका लागि तन्त्रमन्त्र गरेर मनाइने पर्व हो, यो गुरुङहरूको सभ्यता, संस्कृति र पहिचानसँग जोडिएको मौलिक पर्व हो ।”

तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिने गरिएको छ । “कबिलाकालदेखि नै तमु (गुरुङ)का स–साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन पितापूर्खाहरूले ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा छ”, उहाँले भन्नुभयो ।

धमु धिँ नेपालको अगुवाइमा यस पर्वलाई विसं २०५२ देखि व्यवस्थित रूपमा मनाउन थालिएको अध्यक्ष गुरुङले बताउनुभयो । ट्होटेँमो प्रकृति पूजा गर्ने चलन रहेको उहाँको भनाइ छ । यस पर्वमा गुरुङहरू आफ्ना परम्परागत बाजागाजासहित जातीय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् । ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रदर्शन गरिन्छ । यस पर्वमा गुरुङ जातिले प्रयोग गर्ने पुराना हातहतियार, पोसाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायत सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ ।

यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्ने चलन डुल्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ । ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको छ । गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर ट्होटेँ पर्व मनाउन सुरू गरिएको गुरुङ समुदायको इतिहासमा उल्लेख छ । यो पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास रहेको छ ।

यस वर्षदेखि चैतमा सामूहिक रूपमा र साउनमा गुरुङ गाउँ र समाज घरमा अलगअलग रूपमा ट्होटेँ मनाउन सुरू गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । पोखरासहित यस क्षेत्रका एक सय ४८ गुरुङ गाउँ र समाजघरमा आज ट्होटेँ मनाइएको उहाँको भनाइ छ । पोखरास्थित धमु धिँ नेपालको केन्द्रीय कार्यालय परिसरमा सांस्कृतिक झाँकीसहित शुभकामना आदानप्रदान गरेर यो पर्व मनाइएको हो । सोही अवसरमा जयबहादुर गुरुङको स्मृतिमा स्थापित अक्षयकोषबाट १६ जना दीर्घरोगीलाई रु २५ हजारका दरले उपचार खर्च प्रदान गरिएको थियो । रु एक करोड एक सय ५१ को उक्त अक्षयकोषबाट अहिलेसम्म ६३ जनालाई रु ३१ लाख ३४ हजार प्रदान गरिसकिएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा झरेका गुरुङहरूले ट्होटेँ पर्वलाई संरक्षण गरेका छन् । चैतको अन्तिम मङ्गलबार पनि मनाइने ट्होटेँ पर्वमा भने पोखरामा बृहत् सांस्कृतिक झाँकी प्रदर्शन गर्ने गरिएको छ । यो पर्व प्रकृति र संस्कृतिसँग जोडिएको उहाँको भनाइ छ । चैतमा उभौली र साउन उधौलीका रूपमा यो पर्वलाई मनाउने गरिन्छ । ट्होटेँले सामाजिक एकता र भातृत्वको सन्देश दिने अन्नपूर्ण गाउँपालिकाका–९ का वडाध्यक्ष रमेश गुरुङले बताउनुभयो ।

ट्होटेँ पर्वले तुम समुदायलाई आफ्नो इतिहासको पनि स्मरण गराउने गरेको उहाँको भनाइ छ । विसं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा यो समुदाय जागरुक बनेको हो । ट्होटेँका अवसरमा कास्कीको माछापूछ«े, अन्नपूर्ण र मादी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार