टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि नयाँ ‘सर्च गाइड’ सेवा सुरु गरेको छ । बिहीबार सार्वजनिक गरिएको यो सुविधा अन्तर्गत अब प्रयोगकर्ताहरूले यौन दुर्व्यवहारसम्बन्धी विषयमा खोज गर्दा आवश्यक सहायता र सुरक्षा सम्बन्धी जानकारीमा ‘रिडाइरेक्ट’ हुनेछन् ।
टिकटकको ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरशिप म्यानेजर वास्कितो जटीले भने, ‘टिकटकमा प्रयोगकर्ताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । कठिन परिस्थितिमा प्रयोगकर्ताहरूलाई सही सूचना र सहायता स्रोतमा डोहोर्याउनु हाम्रो दायित्व हो ।’ नयाँ सर्च गाइडमार्फत सेक्सुअल एसल्ट, एब्युज, जस्ता शब्दहरू खोज्दा स्थानीय हेल्पलाइन, प्रोफेसनल सहयोगदाताहरू, उजुरी गर्ने तरिका र टिकटकको ‘सेफ्टी सेन्टर’ मा रहेको यौन दुर्व्यवहार सहयोग पेज देखाइनेछ ।
उक्त पेजमार्फत यौन हिंसाका स्वरूपहरू (जस्तै : बाल यौन शोषण, सहमति बिना गरिने यौन क्रियाकलाप, बहकाउने व्यवहार) बारे जानकारी दिइनेछ । साथै, उजुरी प्रणाली, ट्रमा व्यवस्थापन, कानुनी सहयोग, पीडितको गोपनीयता, र पुनःस्थापनासम्बन्धी सहायता संस्थाहरूको डेटाबेस पनि समेटिएको छ ।