सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि बढाएको छ । अब यस्तो अवधिमा १० वर्ष पुर्याउने भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा गरिएको संशोधनले यस्तो व्यवस्था गरेको छ । अबदेखि लाइसेन्सको नवीकरण गर्दा पनि १० वर्षको अवधि कायम रहनेछ । योसँगै लामो समयसम्म लाइसेन्सको नवीकरणको झमेला घटाउने छ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले नेपाल ऐन संशोधन विधेयक सार्वजनिक गर्दै सवारी चालक अनुमतिपत्रको अवधि ५ वर्षबाट बढाएर १० वर्ष राख्ने निर्णय गरेको हो । यसले सवारी चालकहरूलाई लाइसेन्सको नवीकरण प्रक्रिया र समयसीमामा भएका कठिनाइहरूलाई समाधान गर्नमा मद्दत पुर्याउनेछ ।
यो नयाँ व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ अनुसार गरिएको उल्लेख छ । जसमा लाइसेन्सको बहाल अवधि सम्बन्धी व्यवस्था गरिएको छ ।
पहिले लाइसेन्सको अवधि ५ वर्ष मात्र थियो, जसको कारण सवारी चालकहरूले बारम्बार लाइसेन्स नवीकरण गर्नुपथ्र्यो । तर, अब १० वर्षको अवधिमा लाइसेन्सको वैधता रहनेछ, जसले सवारी चालकको झन्झटलाई कम गर्ने विश्वास गरिएको छ । अब सवारी चालकहरूले आफ्नो लाइसेन्सको नवीकरण गर्दा लामो समयसम्म वैधता पाउनेछन्।
निजी क्षेत्रलाई अनुमति
त्यस्तै, सरकारले सवारी जाँचपास र प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई अनुमति दिने व्यवस्था पनि गरेको छ ।
यसले सवारी जाँच र प्रदूषण परीक्षणका कार्यलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउने छ भने उपभोक्ताहरूको सेवामा गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ । आगामी दिनमा सवारी चालकलाई थप सहजता र सेवा उपलब्ध गराइने बताइएको छ ।