• होमपेज
  • अर्थ/वाणिज्य
  • ‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’

‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’

  • शुक्रबार, साउन १७, २०८२
‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’

कोदोजन्य परिकारको आधारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ नेपालमा राष्ट्रिय कोदो दिवस मनाउन सुरु गरिएको छ ।

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्ने, उत्पादन तथा उत्पादकत्व बढाउने, यसको महत्त्व प्रचारप्रसार गर्ने उद्देश्यसहित पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउन थालेको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषिसँग सम्बन्धित निकायहरूको जिकिर छ ।

पहाडी जिल्ला भोजपुरमा भने सरोकार भएका तथा कृषकले दिवस घोषणाले मात्र सार्थकता नपाउँने भन्दै कोदो बालीलाई प्रोत्साहन गर्ने कार्यक्रमसहित जमिन बाँझो नराख्ने नीति आवश्यक रहेको बताएका छन् । कृषक राजेश विष्टले सरकारले किसानलाई प्रोत्साहन गर्ने  र जमिन बाँझो नराख्ने नीति लिनुपर्ने बताउनुभयो । “प्रविधिको अधिकतम प्रयोग गरी लागत घटाउने, उत्पादन बढाउने नीति जरूरी छ । कोदो र यसको प्रयोग बढाउन खाद्य उद्योग निर्माणमा पनि सरकारले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

कृषक तथा भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधान कोदोले खाद्य सङ्कट पनि टार्ने भएकाले यसको उत्पादनमा जोड दिनुपर्ने र त्यसका लागि  पालिकाले कोदो उत्पादन र भण्डार कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उत्पादनमा प्रोत्साहन, मूल्य निर्धारण गर्दै बजारको ग्यारेन्टी, प्रविधिमैत्री खेतीलगायत कार्यक्रमका लागि सरोकार भएकाहरू बीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

खाद्यका लागि कृषि अभियान नेपालका संयोजक उद्धव अधिकारीले कोदो मुख्य खाद्यान्न बालीमध्ये चौथो नम्बरमा पर्ने भएकाले नेपालले यसको उत्पादनमा लागनी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशको तराईदेखि तीन हजार मिटरको उचाइसम्म उत्पादन हुने यो बाली पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्त्वपूर्ण छ । कोदो भण्डारण गर्न सकिएमा खाद्यन्न सङ्कटको समस्या पनि समाधान हुनेछ”, उहाँले भन्नुभयो ।

संयोजक अधिकारी कोदोमा क्याल्सियम, आइरन, प्रोटिन, खनिजलगायतका पौष्टिकताले युक्त औषधीय गुण भएकाले बालबालिका, गर्भवती, मधुमेह, रक्तचापलगायत बिरामीका लागि निकै उपयोगी रहेको बताउनुहुन्छ ।

भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेन्द्र कार्कीले खाद्यान्नमा आत्मनिर्भर बनाउन, खाद्य सुरक्षा, पोषणमा सहयोगजस्ता कारणले पनि कोदोको महत्त्व रहेको बताउनुभयो । कोदोजन्य परिकारहरूमा आधुनिकीकरण गर्दे यस बालीप्रतिको सामाजिक र सांस्कृतिक दृष्टिकोणमा परिवर्तन गर्न लाग्नुपर्ने उहाँको सुझाव छ ।

सुक्खा ठाउँमा पनि लगाउन सकिने र अन्य बालीमा जस्तो पानी पनि नचाहिने भएकाले कृषकका लागि कोदो बाली उपयोगी हुने कृषक रमेश श्रेष्ठको बुझाइ छ ।

मुटुरोग, स्वासप्रस्वास, पाचन प्रणाली, क्यान्सरलगायत रोगप्रतिरोधात्मक क्षमता पनि भएको विभिन्न अनुसन्धानले देखाएकाले विगतमा गरिबको खाना भनेर हेयले हेरिने यो बाली अचेल सहरबजारमा लोकप्रिय बन्दै गएको छ ।

Facebook Comments

सम्बन्धित समाचार