जीवन बीमा क्षेत्रमा पहिलो सफल मर्जर अभ्यास गरेर उदाहरण बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ।
१६ वर्षको यात्रा पूरा गरी १७ वर्ष लागेको कम्पनीले आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, सञ्चालकहरू, पूर्व सञ्चालक, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, उच्च व्यवस्थापन टोली, विभागीय प्रमुखहरू र पूर्व कर्मचारीहरू उपस्थित थिए।
कम्पनीले वार्षिकोत्सवको अवसर पारेर १५ वर्षभन्दा बढी सेवा गरेर कम्पनीलाई अघि बढाउन मद्दत गरेका २१ जना कर्मचारीहरूलाई सम्मान गरेको छ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको आर्थिक अवस्था, सेवा गुणस्तर र विश्वासनीयता उल्लेखनीय रुपमा उन्नति भएको जनाउँदै आधुनिक प्रविधि तथा ग्राहकमैत्री सेवाको निरन्तर प्रयोग गर्दै अझ उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता जनाए।
उनले कर्मचारीहरूको हकहित, सीप तथा व्यक्तित्व विकास कम्पनीको प्रमुख प्राथमिकता भएको र सूर्यज्योतिमा सबैले पारिवारिक वातावरणको अनुभव पाउने बताए। कम्पनीले यो आर्थिक वर्षको अन्त्यसम्ममा हालसम्मकै उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गर्ने लक्ष्य लिएको जानकारी पनि खत्रीले दिए।
त्यस अवसरमा अध्यक्ष भट्टराईले कम्पनीसँग विश्वास राख्ने ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियमनकारी निकाय र साझेदारहरूप्रति आभार व्यक्त गरे। साथै संस्थागत सुशासन, पारदर्शिता र नीतिनियमको पालना गर्दै अगाडि बढ्ने अठोट पनि व्यक्त गरे।
सूर्यज्योतिले हालसालै ‘सूर्यज्योति ई–कर्जा’ (अनलाइनमार्फत सजिलै ऋण लिन सकिने सेवा) र ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ जस्ता नयाँ सेवाहरू सञ्चालनमा ल्याएको छ।
बीमा क्षेत्रमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ ९००१–२०१५ प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी ५०१ करोड रुपैयाँ, कुल लगानी ४,४०० करोड, बीमा कोष ३,९४० करोड, नेटवर्थ ६३० करोड रुपैयाँ रहेको छ। कम्पनीसँग ३२ लाख ७५ हजार ४७९ बीमालेख, १ लाख २ हजार २४० प्रशिक्षित अभिकर्ता र १७४ शाखाहरू छन्।
साथै ३५ वटा घातक रोगहरूमा ५० लाख रुपैयाँसम्मको उपचार खर्च सुविधा दिने जीवन बीमा कम्पनीका रूपमा सूर्यज्योति पहिलो बनेको छ।