• होमपेज
  • समाचार
  • रेमिट्यान्सको विकल्प खोजौँ, सार्वजनिक खर्चमा निर्मम कटौती गरौँः डा. स्वर्णिम वाग्लेको विचार

रेमिट्यान्सको विकल्प खोजौँ, सार्वजनिक खर्चमा निर्मम कटौती गरौँः डा. स्वर्णिम वाग्लेको विचार

  • बुधबार, बैशाख १३, २०८०
रेमिट्यान्सको विकल्प खोजौँ, सार्वजनिक खर्चमा निर्मम कटौती गरौँः डा. स्वर्णिम वाग्लेको विचार

अर्थतन्त्र जस्तो भीमकाय विषय हात्ती छामे जस्तो नहोस् भन्नलाई यसलाई चार भागमा छुट्याएर विश्लेषण गर्दा उपयुक्त हुन्छः वित्तीय, मौद्रिक, बाह्य र ‘रियल’ क्षेत्र अर्थात् उत्पादन, आय र रोजगारी । सरकारले उठाउने राजस्व र गर्ने खर्चले धेरै जनतालाई छुन्छ । सामाजिक सुरक्षाअन्तर्गत मासिक भत्ता पाउने जनसंख्या नै ३५ लाख छ । त्यसैले धेरै भन्दा धेरै जनतालाई छुने सरकारको वित्तीय एवम् मौद्रिक गतिविधिले हो । तर त्यसैमा ठूलो समस्या छ । यसको टालटुले समाधान गरेर हुँदैन । यसको लागि हामीले सर्जिकल समाधान खोज्नु पर्छ । राजनीतिक संक्रमणको नाममा धेरै सुधारका कुरा थाँती राख्दै अर्थतन्त्रका मुद्दा ओझलमा पारिँदै आएको छ । त्यसैले अहिलेको समस्यालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाएर समाधान गरिनुपर्छ ।

नेपालका मौलिक चुनौतीको समीक्षा गरी अन्तर्राष्ट्रिय असल अभ्यासहरू अनुकरण गर्दै उपलब्ध तथ्यको आधारमा सुधारको थालनी गर्नुपर्छ । सुधारको क्रममा कतिपय अप्रिय निर्णय गर्नु पर्ने पनि हुनसक्छ । सरकारको आम्दानीको स्रोतले खर्च धानिरहेको छैन । महालेखा नियन्त्रक कार्यालयको गत फागुन ३० सम्मको तथ्यांकअनुसार सरकारको आम्दानी ६ खर्ब २२ अर्ब रूपैयाँ र खर्च ७ खर्ब ७९ अर्ब रूपैयाँ छ । आम्दानी र खर्चबीच देखिएको यो खाडल पुर्ने लक्ष्यका साथ काम गर्नुपर्छ । हामी अन्तर्राष्ट्रिय ऋण पनि लिन्छौं । यसका सीमा छन् । महंगो ऋण लिन हाम्रो मुलुकको सार्वभौम रेटिङ भएको छैन ।

हामी साह्रै तन्नम भएकाले श्रीलंका र पाकिस्तानमा जस्तो अन्तराष्ट्रिय सार्वभौम ऋण दाताबाट ऋण लिन सक्ने अवस्थामै छैनौं । कुशासित हुँदापनि हामी जोगिएको कारण गरिब र अविश्वसनीय भएर हो । यति हुँदाहुँदै पनि हाम्रो ऋण बढिरहेको छ । केही वर्षअघिसम्म राजस्वको ११ प्रतिशत रकम साँवा र ब्याज भुक्तानीमा गइरहेको थियो । अहिले यो १६ प्रतिशतसम्म पुगेको छ । यो अनुपात बढ्दै जाने देखिएको छ । हामीले सार्वजनिक खर्च धान्न आन्तरिक ऋण पनि धेरै लिइरहेका छौं जसले निजी क्षेत्रलाई दिन सकिने उत्पादनमुखी कर्जाको आकारलाई खुम्च्याउँछ ।

सार्वजनिक खर्चमा निर्मम कटौती

सार्वजनिक खर्चहरूमा अब निर्मम कटौति गर्नैपर्छ । यसको लागि अर्थमन्त्रीलाई प्रधानमन्त्री र संसदले नै सघाउन आवश्यक छ । खाईपाई आएको सुविधा कटौति गर्न कसैलाई पनि मन हुँदैन र सहमति विना त्यसो गर्दा यो विषय राजनीतिक मुद्दा बन्ने तथा धर्ना, आन्दोलन हुने जोखिम छ । त्यसैले सुविधा कटौतिमा आमराजनीतिक सहमतिको आवश्यकता पर्छ । पछिल्लो सार्वजनिक खर्च पुनरावलोकन आयोगले अहिले रहेका २१६ वटा आयोगमध्ये ८३ वटा मात्रै राख्न सुझाव दिएको छ । कार्यकर्ता पाल्न बनाइएका कतिपय यस्ता आयोगको औचित्य छैन । चालु खर्चमा भैरहेको अत्याधिक वृद्धि रोक्ने पहिलो पाइला यस्तै अनावश्यक खर्च कटौतीबाट हो ।

खर्च घटाइरहँदा राजस्वबाट हुने आम्दानी पनि बढाउँदै लैजानुपर्ने छ । राजस्वमा भएका चुहावट क्रमशः कम गर्दै जाने तथा यसको दायरा बढाउने आवश्यकता छ । अहिले अधिक बिजकीकरण गरेर भइरहेको पुँजी पलायन रोक्नुपर्नेछ । यसको लागि अलग्गै कार्यदल नै बनाएर काम गर्नुपर्छ । राज्य दह्रोसँग लाग्ने हो भने यसमा कस्न सकिने रहेछ भन्ने कुरा डा. रामशरण महत, डा. बाबुराम भट्टराई र डा. युवराज खतिवडा जस्ता प्राज्ञिक छविका अर्थमन्त्रीको पालामा देखिएको थियो ।

अब बाह्य क्षेत्रको कुरा गरौं । युवाहरूले पठाउने रेमिट्यान्सबाट विदेशी मुद्राको आर्जन सहज बनेको यथार्थ हामीसँग छ । श्रीलंकासँग तुलना गर्न नमिल्नुमा यो पनि एउटा कारण हो । श्रीलंका ८२ अर्ब डलरको अर्थतन्त्र हो जहाँ एक समय विदेशी मुद्राको सञ्चिति पचास लाख डलर मात्रै थियो । यसले उसको दुई घण्टाको आयात पनि धान्न सक्ने अवस्था थिएन । हाम्रो अर्थतन्त्र ४० अर्ब डलरको हाराहारी हुँदा १० अर्ब विदेशी मुद्रा सञ्चिति छ । त्यसबाट हामीले १० महिनाको आयात धान्न सक्ने अवस्था छ । नेपाल र श्रीलंकामा समानता के मा छ भने दुवै अर्थतन्त्र कुशासित छन् ।

चार मोडका लागि रणनीति

हाम्रो वस्तु निर्यातको आधुनिक इतिहास ७० वर्षको छ । कहिले अदुवा, कहिले कार्पेट, कहिले गार्मेन्ट निर्यातमा हाम्रो ध्यान गयो । राज्य नै लाग्दा पनि हामीले एक अर्ब डलरभन्दा बढीको बस्तु निर्यात गर्न सकेका छैनौं । अहिले हाम्रा युवाहरुले ‘गिग इकोनोमी’मा आवद्ध भएर त्योभन्दा बढी रकम भित्र्याइरहे पनि त्यसलाई औपचारिकरुपमा प्रवद्र्धन गर्न सकेका छैनौं । विदेशमा खाता खोल्न दिने व्यवस्था, वैदेशिक मुद्रा संकलनको लागि अपचलन नहुने गरेर यसको व्यवस्थापन गर्ने कि नगर्ने लगायतका निर्णय विश्वका असल अभ्यास हेरेर गर्नुपर्ने हुन्छ । रेमिट्यान्सको प्रवाह आजको भोली नै सुक्दैन । तर विदेशी मुद्रा आर्जनको स्रोतमा भने अब विविधिकरण हुनै पर्छ । वस्तु होइन सेवा क्षेत्रको निर्यातलाई अर्थशास्त्रको भाषामा मोड वान, मोड टु, मोड थ्री र मोड फोर गरेर रणनीति बनाउन सकिन्छ ।

मोड वानमा यहाँ बसीबसी अन्य मुलुकको लागि काम गरेर आर्जन गर्ने अवस्था हो । यसमा एकाउन्टिङ, आर्किटेक्ट वा एप डेभलपमेण्टलगायतका क्षेत्र हुन सक्छन् । अहिले यो क्षेत्रबाट एक खर्ब रुपैयाँ रकम भित्रिरहेको छ । यसलाई औपचारिक माध्यमबाट ल्याउने वातावरण बनाउन सकिए २० औं खर्ब आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ । मोड टु भनेको बाहिरको मानिस हाम्रोमा आएर यहाँका बस्तु तथा सेवा खपत गर्ने । यो पयर्टन क्षेत्र हो । हामीले हाम्रा सेवा उच्च मूल्यमा बिक्री गरिरहेका छैनौं । यसको लागि पुरै इकोसिस्टमको विकास र सुधारमा काम गर्नुपर्ने हुन्छ । नेपाल आउन लाग्ने विमान शुल्क मात्रै बाली र फुकेट गएर एक साता बस्न सक्ने जति छ, यस्तो अवस्था हुँदा पर्यटक किन यहाँ आउलान् रु

मोड थ्री भनेको बाहिरको सेवा प्रदायक यहाँ आएर जनतालाई सेवा दिने हो । प्रत्यक्ष वैदेशिक लगानीलाई यस कोटीमा राख्न सकिन्छ । हाम्रो प्रभावकारिता बढाउन सकिने र लागत घटाउने क्षेत्रमा बाह्य लगानी आउँदा बजार पनि सँगै आउँछ । नेपालीहरूले बर्षौं लगाएर खोज्न नसकेको बजार उनीहरूले साथै लिएर आउँछन् । मोड फोर भनेको यहाँका नागरिक विदेशमा गएर सेवा प्रदायकको रुपमा रहने । यसले नै हाम्रो अर्थतन्त्र धानेको दुई दशक भैसक्यो ।

सेवा क्षेत्रमा यी चार वटै पाटालाई अगाडि बढाउन सकेनौं भने विदेशी मुद्राको स्रोतमा विविधिकरण हुन सक्दैन । अब मौद्रिक नीतिको विश्लेषण गर्दा के विचारणीय छ भने यो अहिले मात्र आएको समस्या होइन । हाम्रो थिङ्कट्यांक संस्था ‘आइआइडिएस’ मा डा. विश्वास गौचनको अगुवाइमा भएको शोधले अहिलेको असहज अवस्थाको जडमा दुई दशकदेखि बाक्लिँदै गएको विप्रेषण, कर्जा, आयात र जग्गाको संरचनात्मक दुष्चक्र रहेको देखाएको छ । विप्रेषणका कारण आमनागरिकको आय बढेर वस्तु तथा सेवाको माग बढ्नु, बैंकिङ क्षेत्रबाट सहजरूपमा कर्जा प्राप्त हुनु, उपभोग्य वस्तु आपूर्तिका लागि आयात बढ्नु र सहज कर्जाकै कारण लगानी जति जग्गामा लगाउनु जस्ता कारणले नेपाली अर्थतन्त्र अहिले जोखिमपूर्ण अवस्थामा छ । अर्थतन्त्रको बार्षिक ‘नोमिनल’ वृद्धि १२–१३ प्रतिशत हुने तर विस्तारवादी मौद्रिक नीतिका कारण कर्जाको वृद्धि २०/२२ प्रतिशतले हुँदा केही वर्षभित्रै निजी कर्जाको आकार जिडिपी सरह नै पुग्नु खतराको घन्टी बज्नु हो ।

केही वस्तु आयातमा छोटो समय रोक लगाएर कडा मौद्रिक नीतिमार्फत कर्जा प्रवाह कसिलो बनाउनैपर्ने बाध्यताले अहिले ब्याजदर बढ्ने अवस्था आएको छ । यसले साना उद्यमी–व्यवसायी भयभित छन् र उनीहरुमाा चरम संशय व्याप्त छ । सानो रकम ऋण लिएकालाई आधारदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाइने भनेर राष्ट्र बैंकले केही राहत दिएको छ । तर, उनीहरुले अब आ–आफ्नो ‘ब्यालेन्स सिट’ र नगद प्रवाहको स्वमूल्यांकन गर्दै कर्जामाथिको अत्यधिक निर्भरता घटाउँदै लैजानुपर्छ । अघिल्लो दशकजस्तो विप्रेषणको भरमा उपभोग भनेकै आयात र लगानी भनेकै घरजग्गा जस्तो बहेको अर्थतन्त्रको चरित्रमा अब ‘ब्रेक’ लाग्नुपर्ने छ । अब नयाँ सरकारको ध्यान गहिरा संरचनात्मक सुधारमार्फत आन्तरिक उत्पादन र प्रतिस्पर्धी क्षमता वृद्धिमै केन्द्रित हुनु अपरिहार्य छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आई.आई.डी.एस.) का अध्यक्ष एवं राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) एसियाप्रशान्त क्षेत्रका पूर्व प्रमुख आर्थिक सल्लाहकार हुन्   डा. वाग्ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् ।)

Facebook Comments

सम्बन्धित समाचार