गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बङ्गलादेश बैंकले रू. २ अर्ब २९ करोड २५ लाख ९२ हजार खुद नाफा गरेको छ । आइतवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा ८४ दशमलव १७ प्रतिशतले नाफा बढेको हो ।
अघिल्लो वर्ष यस अवधिसम्म बैंकको नाफा रू. १ अर्ब २४ करोड ४८ लाख ४६ हजार थियो । गत वर्ष सञ्चालन नाफा ७४ दशमलव ६८ प्रतिशत बढी रू. ३ अर्ब २० करोड ८९ लाख २२ हजार भएको छ । सञ्चालन नाफा बढेकाले पनि बैंकको खुद नाफा बढ्नमा सहयोग मिलेको हो ।
गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा पनि अघिल्लो वर्षभन्दा २२८ दशमलव ४९ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्ष रू. ४४ करोड ९१ लाख १४ हजार रहेको वितरणयोग्य नाफा गत वर्ष रू. १ अर्ब ४७ करोड ५२ लाख ८३ हजार रहेको छ । ५ दशमलव ९९ प्रतिशतले चुक्तापूँजी बढाएर रू. ९ अर्ब ४८ लाख २१ हजार पु¥याएको बैंकको जगेडा कोष रकम ४० दशमलव ४८ प्रतिशतले बढेर रू. ६ अर्ब ४६ करोड ३० लाख ९९ हजार कायम भएको छ ।
बैंकले अघिल्लो वर्षभन्दा ३१ दशमलव १५ प्रतिशत बढी रू. ८७ अर्ब १२ करोड ७८ लाख ७१ हजार निक्षेप संकलन गरेको छ भने १५ दशमलव ८६ प्रतिशत बढी रू. ६८ अर्ब ४८ करोड ४९ लाख ५९ हजार कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २ दशमलव ८९ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत वर्ष घटेर १ दशमलव ५५ प्रतिशतमा झरेको छ ।
प्रतिशेयर आम्दानी रू. २५ दशमलव ४६ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १७० दशमलव ६५ रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. १४ दशमलव ६५ र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव १५ रहेको थियो ।