• होमपेज
  • समाचार
  • धरहरा आज उद्घाटन हुने

धरहरा आज उद्घाटन हुने

  • शनिबार, बैशाख ११, २०७८
धरहरा आज उद्घाटन हुने

बैशाख ११ गते धरहराको टावरतर्फको भाग उद्घाटन गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणका अनुसार शनिबार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २३ तलाको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतल्लासहित २३ तला हुनेछ । समग्रमा धरहरा २५ तलाको हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब ४८ करोड रहेको जानकारी पनि उनले दिए ।

‘२०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् ।

विसं। १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाएको  इतिहास छ । विसं १९१३ मा बज्र (चट्याङ) ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो ।

विसं १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो ।

 

यो धरहराभन्दाअघि विसं। १८८१ मा थापाले नै लगनटोलमा आफ्न नाममा धरहरा निर्माण गरेका थिए । त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनःनिर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार