खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना अनुरुप खाद्य कम्पनीले भोलि सोमबार बिहान ८.०० बजेदेखि बेलुका ४.३० बजेसम्म खसी बोका बिक्री गर्ने तालिका बनाएको हो । यस वर्ष कोभिडका कारणले खाद्यले भेडा/च्याङ्ग्रा भने ल्याएको छैन । आज आइतबारसम्म ४ सय ५ वटा खसी बोका आइपुगेको र भोलिदेखि बिक्री गर्ने कम्पनीका प्रवक्ता सर्मिला सुवेदीले बताइन् ।
‘सोमबारबाट मात्रै खसी बोकाको बिक्री सुरु गर्न लागिएको हो,’ उनले भनिन् ‘५५० रुपैयाँ प्रतिकेजीमा आम उपभोक्ताले खसी बोका पाउनु हुनेछ । अहिलेलाई हामीले चार सय पाँच वटा खसी बोका ल्याएका छौं, नपुग भएमा फेरि थप गर्ने छौं,’ सुवेदीले भनिन् । गत वर्ष कम्पनीले जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ नै तोकेको थियो ।
यस वर्ष ५६० रुपैयाँ प्रतिकेजी जिउँदो खसी बोकाको मूल्य भएपनि १० रुपैयाँ छुटमा दिन लागिएको हो । यो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याङ्ग्रा भने बिक्री नगर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा खसी, बोकाको मूल्य निर्धारण गरिएको हो ।
यो वर्ष कोभिडको कारण च्याङ्ग्राको बिक्री गर्न नसकेको बताउँदै आइतबार साँझ मात्रै खसी बोकाको मूल्य निर्धारण गरेको हो । आइतबारसम्म एक हजार वटा खसी बोका आउने भएकाले मागको आधारमा कति संख्यामा बिक्री गर्ने भन्ने यकिन हुने कम्पनीले जनाएको छ । यो वर्ष कम्पनीले तीन हजार खसी बोका ल्याउने योजना बनाएको छ । विगतका वर्षमा सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गर्ने गरेको थियो ।
अघिल्लो बर्ष कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ र च्याङ्ग्रााको मूल्य प्रतिकिलो ७३० निर्धारण गरिएको थियो । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्राामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई उक्त मूल्य निर्धारण गरेको थियो । अहिलेको वर्ष पनि कम्पनीले सोही प्रणाली अनुसार काम गरेको हो ।
कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बागमती अञ्चल कार्यालय (धान गोदाम)बाट खसी, बोका बिक्री गर्नेछ । सरकारले दशैँका समयमा उपभोक्तालाई थोरै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका बिक्री गर्न खसी बोका खरिद गरेको हो ।
विगत वर्षहरुमा जस्तै यो बर्ष पनि सरकारले खसी, बोका तथा बिक्रीमा घाटा खाएर उपभोक्तालाई राहत दिने भएको हो । बजार मूल्यभन्दा कममा उपभोक्तालाइ खसी बोका बिक्री गर्न लागेको हो । सरकारले यस वर्ष खसी बोका खरिद गर्नको लागि ६ करोड रुपैयाँ छुट्याएको छ ।