कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय लम्कीमार्फत कैलालीस्थित लम्की मानव सेवा आश्रममा आश्रित असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्ध–वृद्धा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ । बैंकका लम्की शाखा प्रमुख भिमराज जैसीले आश्रमका सञ्चालक विनोद थापालाई ब्लाङ्केट, म्याट्रेस, सिरक तथा चिसो मौसममा आवश्यक अन्य न्यानो सामग्री हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै शाखा प्रमुख जैसीले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले लम्की मानव सेवा आश्रमलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यस अवसरमा आश्रमका सञ्चालक थापाले जाडोयाममा प्राप्त न्यानो सामग्रीले आश्रममा बसोबास गर्दै आएका बेसाहारा वृद्ध तथा बालबालिकाको जीवनमा न्यानोपन, सुरक्षा र आत्मबल थपिने उल्लेख गर्दै बैंकको मानवीय पहलप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा बैंकका कर्मचारी, मानव सेवा आश्रमका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।