• होमपेज
  • बीमा
  • नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न

  • आइतवार, पुस २०, २०८२
नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभा शनिबार वीरगञ्जमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा पर्साको होटल भिष्वामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष संघईले प्रस्तुत गरेको आ.व. २०८१/८२ को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफलपछि पारित गरिएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण स्वीकृत गरिएको छ । सभाले आ.व. २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक पनि निर्धारण गरेको छ।

साधारण सभाले आ.व. २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँको २१.०५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । यसअनुसार सेयरधनीलाई १६.०५ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस सेयर प्रदान गरिनेछ ।

सभाले संस्थापक समूहतर्फबाट गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको ४०७औँ बैठकले संघईलाई पुनः सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ ।

अध्यक्ष संघईले कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई थप उचाइमा पुर्याउन संरचनात्मक सुधार, संस्थागत सुशासनको कडाइ, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण, नविन प्रविधिको प्रयोग, ग्राहक केन्द्रित योजना र डिजिटल रूपान्तरणमा जोड दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले जोखिम व्यवस्थापन ढाँचा तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमको उचित व्यवस्थापन भइरहेको जानकारी दिए ।

सभालाई सम्बोधन गर्दै सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकूल परिस्थितिका बाबजुद कम्पनीले अग्रस्थान कायम गर्न सफल भएको बताए । वर्तमान म्याक्रो–आर्थिक अवस्थाले बीमा व्यवसायलाई चुनौतीपूर्ण बनाएको उल्लेख गर्दै सबै सरोकारवाला एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०८१/८२ मा सामना गरिएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै हासिल गरिएका उपलब्धि र आगामी योजना प्रस्तुत गरे । आर्थिक अवस्था सहज नभए पनि लाभांश वितरण गर्न सफल हुनु गौरवको विषय भएको उनले बताए ।

कम्पनीका अनुसार २०८२ असोज मसान्तसम्म यसको कुल लगानी २५४ अर्ब रुपैयाँ पुगेको छ भने जीवन बीमा कोष २४५ अर्ब र सेयरधनी कोष १३ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । नेपाल लाइफले देशभर रहेका १ सय ९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले हालसम्म ३२६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको र १०३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ । ग्राहक हितलाई केन्द्रमा राख्दै समयसापेक्ष सेवा र सुविधामा निरन्तर सुधार गर्दै जाने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार