• होमपेज
  • ब्रेक्इङ न्युज
  • क्यासिनोमा “महाकाय” ग्रुपको ठगी

क्यासिनोमा “महाकाय” ग्रुपको ठगी

  • बिहिबार, पुस १०, २०८२
क्यासिनोमा “महाकाय” ग्रुपको ठगी

हवाई टिकट र पाँचतारे होटलमा निःशुल्क बसोबासको प्रलोभन देखाएर भारतीय खेलाडीहरूलाई नेपाल ल्याई क्यासिनोमा म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने उच्च प्रविधिको हाइ टेक लेन्स राखेर क्यासिनो खेल्दै करोडौं ठग्न खोज्ने भारतीय समूह पक्राउ परेको छ । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेर ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतीय नागरिक सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे छन् ।

यो प्रकरणमा संलग्न रहेको आरोपमा क्यासिनो सञ्चालक, विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा (मुकेश) नाम गरेका व्यक्ति भने फरार छन् । मुख्य व्यक्ति भारतीय नागरिक सुरेश महाजन छन् । उनलाई नेपालबाट सहयोग गर्ने जनार्दन उप्रेती हुन् । जो अहिले फरार छन् । महाकाया ग्रुप’ को आयोजनामा काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा रहेको ‘वाल्डो क्यासिनो’ मा डिसेम्बर ११ देखि १४ सम्म सञ्चालन गरिएको विशेष खेलका नाममा यस्तो ठगी धन्दा भएको खुलेको हो । गिरोहले भारतभर सामाजिक सञ्जालमार्फत विज्ञापन गरी क्यासिनो खेल्न नेपाल आउनेलाई पशुपति दर्शन, स्टार होटलमा निःशुल्क बस्न र आउन–जान हवाई टिकट समेत ‘फ्रि’ मा दिने प्रचार गरेको थियो । यही विज्ञापनका आधारमा आयोजकले भारतभरका यस्ता चर्चित खेलाडीहरूको खोजी गर्‍यो, जो क्यासिनोमा छिर्नेबित्तिकै जित हात पार्न सक्छन् । सोही प्रलोभनमा परेर करिब २०० जना भारतीय खेलाडीहरू ठूलो गेम जित्ने र पशुपति दर्शन गर्ने सोचसहित नेपाल आएका थिए ।

गेम आयोजक महाकाया ग्रुपका सुरेश महाजनको अगुवाइमा खेलाडीको खोजी भएको थियो । महाजनलाई सहयोग गर्ने नेपालका मुख्य व्यक्ति जनार्दनलाई बीपी ग्रुपको नाममा चिनिन्छ । उनी नेपालतर्फको मुख्य आयोजक रहेको प्रहरीले बताएको छ । उनले इभेन्ट आयोजक, खेलाडी, कर्मचारीलाई होटल, प्लेन टिकटको व्यवस्था गर्ने र टेबल बुकिङको सम्पूर्ण काम गर्ने गरेको प्रहरीले बताएको छ । जसले नेपालका होटलहरूमा खेलाडीको कोठा बुकिङदेखि अन्य व्यवस्थापनको जिम्मा लिएका थिए । उप्रेतीले होटल म्यारियोटमा ५० वटा, होटल अलफ्टमा ४० वटा र होटल र्‍याडिसनमा २० वटा कोठा बुक गरेका थिए । उनले नै वाल्डो क्यासिनोमा ‘इन्डियन फलास’ खेलाउन ७ देखि १० वटा टेबल बुक गर्ने जिम्मा लिएका थिए ।

यस इभेन्टमा एनटी ग्रुपका नितेद थक्कर, नातिक ग्रुपका नातिक, आरजी ग्रुपका रजत गोयल, एसजी ग्रुपका सन्तोष गोयल र सेठी ग्रुपका अमित सेठीको समूह समेत सहभागी हुन नेपाल आएका थिए । महाजनले इभेन्ट गर्ने भन्दै ११ डिसेम्बरदेखि १४ डिसेम्बर गरी ४ दिनका लागि वाल्डो क्यासिनो बुक गरेका थिए । महाजनको ग्रुपलाई ‘महाकाय’ भनिन्छ । यही ग्रुपको नाममा क्यासिनो बुक गरिएको थियो । आफैंले इभेन्ट आयोजना गर्ने भन्दै उनले जुवा खेलाउने गरेका थिए । यसरी खेलिने तासको व्यवस्थापन पनि महाजन आफैंले गर्थे ।

महाजनले १० प्रतिशत कमिसनको प्रलोभनमा पारी दिनेश वर्मा र विक्रम सिंह डमी’ खेलाडीहरूलाई आँखामा विशेष प्रकारको हाइ टेक ‘कन्ट्याक्ट लेन्स’ लगाएर क्यासिनोमा प्रवेश गराएका थिए । लेन्स लगाएपछि म्याग्नेटिक तासको पछाडिको भाग सहजै देख्न सकिन्थ्यो । १ करोड रुपैयाँ जितेबापत १० लाख रुपैयाँ कमिसन पाउने शर्तमा उनीहरू आएका थिए । यी खेलाडीहरूले २ देखि ३ घण्टासम्म लेन्स लगाउने गरेका थिए । प्रवक्ता भट्टराईका अनुसार एक जोर लेन्स डमी खेलाडीले लगाएको अवस्थामा फेला परेको थियो भने अन्य २ जना लेन्स लगाएको अवस्थामै भाग्न सफल भएका थिए । तासलाई मिलाउने जिम्मा भने नेपाली महिलाहरू चिजा खड्का, भवानी पाण्डे, प्रतिमा भुजेल र प्रेरणाले लिएका थिए । दिनेश वर्माले भारतबाट ४ सेट लेन्स र ५० प्याकेट चुम्बकीय तास खरिद गरेर ल्याएका थिए । जसमध्ये १२ सेट तास उप्रेतीमार्फत क्यासिनोभित्र छिराइएको थियो भने ३८ प्याकेट तास होटलमा राखिएको अवस्थामा फेला परेको छ ।

यसअघि महाजनले ह्यात होटलमा रहेको प्राइड क्यासिनोमा दुई वर्षदेखि इभेन्ट सञ्चालन गर्ने गरेको खुलेको छ । अहिले जेनजी आन्दोलनको क्रममा प्राइड क्यासिनो तोडफोड भएपछि वाल्डो क्यासिनो बुक गरेर खेलाउने तयारी गरेका थिए । सचेत भया । (राजतिलक साप्ताहिक)

Facebook Comments

सम्बन्धित समाचार