रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको डुम्रे शाखा कार्यालयले प्रस्तावकको मृत्यु भएपछि बीमित बच्चाको आमा मन कुमारी गुरुङलाई बीमा दाबी भुक्तानी गरेको हो ।
दाबी भुक्तानी कार्यक्रमका क्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख विरोध श्रेष्ठ, सिनियर एजेन्सी म्यानेजर राजकुमार श्रेष्ठ र मेगा स्टार नन्द लाल भट्टले बीमितको परिवारलाई दाबी रकमको चेक हस्तान्तरण गरेका हुन् ।
रिलायबल नेपाल लाइफको सुलभ बाल प्लस बीमा योजना अन्तर्गत उक्त बीमाको प्रस्तावक अमित सुवालको दुर्घटनामा असामयिक निधन भएपछि आवश्यक कागजात पूरा गरी बीमा दाबी प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
सबै प्रक्रिया पूरा भएपछि कम्पनीले दाबी भुक्तानी बापत तोकिएको रकम ५ लाख र मासिक आय सुवीधा ५ हजार भुक्तानी गरेको हो । मासिक आय सुवीधा अब बच्चाले १६ वर्ष नपुगुन्जेलसम्म प्राप्त गर्दछ । दाबी रकम प्राप्त गरेपछि बीमित बच्चाको आमाले कठिन समयमा आर्थिक सहयोग प्राप्त भएको भन्दै कम्पनीप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रतिनिधिले बीमाले विपद् तथा आकस्मिक अवस्थामा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने उल्लेख गर्दै सबैले आफ्नो क्षमताअनुसार जीवन बीमा गर्नुपर्ने बताए ।