भारतले नेपालमा १०० भारुभन्दा माथिका नोटमा लगाएको प्रतिब्ध हटाएको छ। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले राजपत्रमा नेपालमा प्रयोगका लागि लगाइएको प्रतिबन्ध हटाएको हो। अब भारत सरकारले गरेको यो व्यवस्थालाई नेपाल राष्ट्र बैंकले समायोजन गरेर सूचना प्रकाशित गरेपछि नेपालमा पनि ठूला दरका भारु नोट सटही हुनेछ। भारतमा अहिले २००० दरका नोटसम्म चलनचल्तिमा छ। तर, २०२३ देखि २००० दरका नयाँ नोट छापिन छाडेको छ। त्यसैले अहिले १०० दरभन्दा माथिको अधिकतम २०० र ५०० दरका नोट चलनचल्तिमा छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ मा ५०० र हजार दरका नोट अमौद्रिकीकरण (डीमोनिटाइजेसन) गरेपछि नेपालमा १०० भारु दरका नोटमा ल्याउन र लैजान (भारत) पाइन्थ्यो। भारत सरकारले नेपालबाहेक यो सुविधा भुटानलाई पनि दिएको हो।
भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज म्यानेजमेन्ट (विदेशी मुद्रा विनिमय व्यवस्थापन) ऐन आएपछि नेपालमा ठूला दरका भारु चल्न छाडेको थियो। ऐन आउँदा भारतमा एक हजारका नोटहरु चलनचल्तीमा आएको थिएनन्। मोदी सत्तामा आएपछि बल्ल ठूला दरका नोट चल्न थालेको थियो। ठूला दरका नोटको अधिकतम सीमा भने तोकिएको छ। २५ हजार भारुभन्दा बढी ल्याउन लैजान पाइने छैन।
‘यो व्यवस्थाले भारतबाट नेपाल आएका पर्यटक र नेपालबाट भारत जाने विद्यार्थी र कामदारहरुलाई राहत पुग्ने छ,’ राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले भने, ‘यसका लागि राष्ट्र बैंकले पहल पनि परेको थियो। त्यही पहल अनुसार भारत सरकारबाट निर्णय आएको छ।’
गत कात्तिक १७ गते नेपाल राष्ट्र बैंक र आरबीआइको साझा समन्वय संयन्त्र (जेटीसीसी) को नवौं बैठकमा गभर्नर डा. विश्वनाथ पौडेलले यस बारेमा आफ्नो जिज्ञासा राखेका थिए। गभर्नर पौडेलले भारतबाट नेपाल पैसा ल्याउन पाइने तर त्यही ठूला दरका नोट भारत लैजान नपाउने अभ्यासलाई कार्यान्वयन गर्न नसकिने बताएका थिए।
उनले सीमा तोकेर ठूला दरका नोट ल्याउन र लैजान दिनु पर्ने माग राखेका थिए। त्यो प्राविधिक बैठकमा आरबीआइबाट कार्यकारी निर्देशक अर्णबकुमार चौधरी सहभागी थिए। उनी नेपालका गभर्नरले उठाएको विषयमा सहमत भएको एक महिनामै भारत सरकारले सीमा तोकेर ठूला दरका भारु नोट दुवैतिर चल्ने औपचारिक निर्णय गरेको हो।
सन् २०१६ ताका ठूला दरका नोट नेपालमा चल्थ्यो। त्यो व्यवस्था पनि भारतीय प्रधानमन्त्री मोदीले नै मिलाएका थिए। नेपालले १२ वर्षदेखि गरेको पहलमा मोदीले नेपाल भ्रमणमा आएका बेला सहजीकरण गर्ने आश्वासन दिएका थिए। तर अर्को वर्ष नै भारतले डिमोनिटाइजेसन गर्यो। त्यसको असर नेपालमा पनि पर्यो। नेपालको वित्तीय प्रणालीमा रहेको करिब ४ करोड भारु अहिलेसम्म साटिएको छैन।
जेटीसीसीको बैठकमा भारत पक्षले त्यो बेला नसाटिएको पैसा साट्न पहल गर्ने आश्वासन नेपाली पक्षलाई दिएको पौडैलले जानकारी दिए। ‘ठूला दरका नोट भारत फिर्ता लैजान पाइने भएपछि पुरानो नोट पनि साटिएला भनेर आशावादी हुन सकिन्छ,’ उनले भने। तोकिएको (२५ हजारभन्दा बढी) नोट ल्याएमा बाँकी रकम जफत हुनसक्छ। नेपाली नागरिकले भारतीय रुपैयाँ भारत बाहेक अन्य मुलुकमा लैजान र अन्य मुलुकबाट ल्याउन पाउँदैनन्।
अब ठूला दरका भारु ठूला नोटहरु चलेपछि भारतमा काम गर्न गएका नेपालीका साथै नेपाल आउने भारतीय पर्यटकलाई पनि सजिलो हुनेछ। नोट सटही गर्न सजिलो होस् भनेर सीमा क्षेत्रमा दुवै देशले पैसा साट्ने काउन्टर खोल्नु पर्ने हुन्छ। काउन्टरबाट भारतबाट नेपाल जाने वा नेपालबाट भारत जानेले आफ्नो सुविधा अनुसार भारु साटेर लैजान पाउँछन्।
ठूला दरका नोटहरु बढी तस्करी हुने भएकाले भारतीय पक्षले आन्तरिक सुरक्षाका लागि भन्दै नोटबन्दीपछि नेपालमा ठूला दरका नोट ल्याउन प्रतिबन्ध लगाएको थियो । भारतले प्रतिबन्ध लगाएपछि नेपालमा एक सय दरभन्दा कमका भारु नोटहरु मात्र चल्दै आएको थियो।