• होमपेज
  • ब्रेक्इङ न्युज
  • इन्भेष्टमेन्ट मेगा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

इन्भेष्टमेन्ट मेगा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

  • सोमवार, मंसिर २, २०८२
इन्भेष्टमेन्ट मेगा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

गत आर्थिक वर्षमा सबैभन्दा धेरै आयकर बुझाउने वित्तीय कम्पनीको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित भएको छ । कर दिवसको उपलक्ष्यमा सरकारले सबैभन्दा बढी संस्थागत आयकर तिर्ने संस्थाका रुपमा बैंकलाई सम्मान गरेको हो । नेपालमा आक्रामक बैंकिङ्गको सुरुआत गरेर दुई दशक अघि नै वित्तीय पहूँच सुदृढिकरणमा सबैभन्दा धेरै मिहेनत गर्ने बैंक थियो, ‘नेपाल इन्भेष्टमेन्ट बैंक’ ।

फ्रान्सेली सहलगानी (ज्वाइन्ट भेञ्चर)मा करीब चार दशक अघि खुलेको तत्कालिन ‘इन्डोस्वेज’ बैंक सञ्चालन भएको १६ वर्षपछि पृथ्वीबहादुर पाँडे सहितका नेपालीले आधा स्वामित्व किनेपछि यो बैंकको नाम फेरेर ‘नेपाल इन्भेष्टमेन्ट’ बनाइएको थियो ।

यसरी स्वदेशी स्वामित्वमा बैंक आएदेखि नै यो बैंकले नेपालमा व्यावसायिक विस्तारका लागि असाध्यै ठूलो भूमिका निर्वाह गरेको हो । कुनै बेला लेखा प्रणालीमा पोख्त नभइसकेको र औपचारिक स्वरुप नै ग्रहण नगरेको नेपाली अर्थतन्त्रलाई व्यापक मात्रामा फैलाउन यो बैंकले ठूलो जोखिम मोलेको थियो ।

कागजपत्रको माथापच्चिसीले मानिसहरु बैंकको ऋण परिचालन नै गर्न नसक्ने अवस्थामा यो बैंकले कागजलाई भन्दा मान्छेको इमानदारिता, उसको व्यावसायिक योजना र इच्छाशक्तिलाई ज्यादा महत्व दिएर काम गरेका थियो । यही कारण स–साना व्यवसायीले पनि बैंकबाट सस्तो ब्याजमा ऋण पाउने र आफ्नो कारोबार बढाउन पाउने अवस्था बन्यो ।

पछिल्लो समय नेपालमा जलविद्युत् क्षेत्रको विकासका लागि यो बैंकले असाध्यै बढी मिहेनत गरेका छ । ‘बिग मर्जर’को अभ्यास थाल्नु अघि सबैभन्दा ठूलो बैंक बन्ने होडमा यो बैंक एक सशक्त दाबेदार बनिरहेको थियो । त्यसैले आफ्नो उक्त छबिलाई कायम राख्न पछिल्लो समय मेगा बैंकलाई गाभिएको छ । यससँगै बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा’ भएको हो ।

देशभर २७५ वटा शाखा सञ्जाल, ६० स्थानमा शाखारहित बैंकिङ, ६५ वटा एक्सटेन्सन काउण्टर र २६४ वटा एटीएम बूथ सहितको विशाल सेवासञ्जाल यो बैंकसँग छ । साथै, अमेरिका, चीन, भारत, कोरिया, हङकङ, जर्मनी, जापान, क्यानडा, ब्रिटेन, सिंगापुर र दुबईका विभिन्न बहुराष्ट्रिय बैंकहरुसँग अन्तरराष्ट्रिय कारोबारको साझेदारी पनि छ ।

यति व्यापक र विस्तारित सेवा सञ्जालका साथमा यही बैंक गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको सबैभन्दा ठूलो करदातामध्ये एक भएको छ । बैंक तथा वित्तीय संस्थामात्रै होइन, जीवन र निर्जीवन बीमादेखि पुनर्बीमा कम्पनी र पूर्वाधार विकास बैंकहरुजस्ता वित्तीय क्षेत्रका सबै कम्पनीले भन्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ज्यादा कर दाखिला गरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभागको आयोजनामा “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवस, २०८२ भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रमका अवसरमा सोह्र विधा अन्तर्गत राजस्वमा सर्वाधिक योगदान दिने उत्कृष्ट करदाताहरूलाई सम्मान गरिएकाे हो, त्यसैमध्ये एक संस्था नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि हो ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेका हुन्। उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका साथै नेपाल दुरसञ्चार प्राधिकरण, थर्ड आई इन्टरनेशनल, डावर नेपाल, भेरिक्स नेपाल, पोषक ब्रिडर फार्म, नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल र सोल्टी होटल लिमिटेडलाई पनि विभिन्न विधामा सम्मान गरिएको छ।

Facebook Comments

सम्बन्धित समाचार