नवलपरासी बर्दघाट सुस्ता पूर्वस्थित गैँडाकोटमा रहेको मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा रहेको इला होटेल एण्ड रिसोर्ट संचालनमा आएको छ । मौलाकाली केबलकारको सेवा पनि अबको केही दिनमै संचालनमा आउनेछ। भदौ २४ को घटनामा भएको क्षतिबाट प्रभावित केबलकार बटम स्टेशनका संरचनाहरू मर्मत सम्पन्न हुने चरणमा पुगेको छ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले होटल संचालनमा आएको जानकारी दिएका हुन्। ‘हाम्रो प्रयास र प्रतिबद्धता सकेसम्म छिटो सेवा पुनः सुचारु गर्ने र अझ बलियो भएर अघि बढ्ने हो। अप्ठ्यारो समयमा हामीलाई साथ, हौसला र विश्वास गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्।
नयाँ ऊर्जा, उत्साह र अझ स्तरीय सेवासहित स्वदेशी तथा विदेशी पाहुनाको स्वागत गर्न होटल पूर्ण रूपमा तयार भएको ढकालले बताएका छन्। उनले नेपालमा पर्यटन प्रवर्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा धार्मिक गन्तव्यको प्रवर्धनका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।