कामना सेवा विकास बैंकले खुद नाफा १२.९१ प्रतिशतले बढाएर लगानी क्षमता बलियो बनाएको छ। बैंकले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा १९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकले पोहोर सोही अवधिमा १७ करोड ४९ लाख नाफा गरेको थियो।
यसपालि ब्याज आम्दानीमा सुधारका कारण बैंकको खुद नाफा बढेको हो। नाफा बढेपछि बैंकको लगानी क्षमता थप बलियो बनेको छ। असोज मसान्तमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.६१ प्रतिशत पुगेको छ। पोहोर यसै अवधिमा ९.४३ प्रतिशत थियो। क्यापिटल एडुकेसी रेसियो २०१५, अनुसार बैंकहरुले साढे ८ प्रतिशत प्राथमिक पुँजीकोष कायम गर्नुपर्ने प्रावधान छ। पुँजी कोषको सीमा बढ्नु भनेको लगानी क्षमता बढ्नु हो।
बैंकको फि आम्दानी १२.१९ प्रतिशतले बढेको छ। असोजसम्म बैंकले फि-कमिसनबापत ८ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ। पोहोर तीन महिनामा यस्तो आम्दानी ७ करोड ६२ लाख रुपैयाँ थियो। जेनजी आन्दोलनपछि ऋण असुली प्रभावित हुँदा बैंकको निष्कृय कर्जा भने बढेको छ। पोहोर असोजमा ३.९६ प्रतिशत रहेको निष्कृय कर्जा बढेर ४.४१ प्रतिशत पुगेको छ। निष्कृय कर्जा बढेपछि त्यसका लागि बैंकले ११ करोड ६ लाख रुपैयाँ नोक्सानी छुट्याएको छ। पोहोर तीन महिनामा यस्तो प्रोभिजनिङ ४ करोड ८७ लाख रुपैयाँ थियो।
नोक्सानीका लागि छुट्याएको रकम ऋण असुली भएपछि नाफामा गणना हुन्छ। असोजसम्म बैंकको वितरणयोग्य नाफा १३ करोड ५२ लाख रुपैयाँ छ। बैंकको प्रति सेयर आम्दानी २०.४६ पैसा र नेटवर्थ १५२.३१ रुपैयाँ छ।