सानेई ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री चुनिएकी छन् । जापानी संसदका दुवै सदनमा भएको मतदानमा उनलाई बहुमत प्राप्त भएको हो । ६४ वर्षीया ताकाइची दक्षिणपन्थी नेतृ हुन् । उनलाई जापानकी ‘आइरन लेडी’ भनेर पनि चिनिन्छ । जापानको प्रधानमन्त्री बन्ने यो उनको तेस्रो प्रयास हो । ताकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन् । एलडीपीले पछिल्ला पाँच वर्षमा चौथोपटक नयाँ प्रधानमन्त्री चयन गरेको हो । पछिल्ला वर्षहरूमा यो पार्टी अनेक घोटालाका आरोपहरूमा घेरिएको थियो ।
सानेई ताकाइची जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी पनि हुन् । यसअघि उनी सरकारमा मन्त्रीको रूपमा काम गरिसकेकी छिन् । उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर पनि रहिसकेकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताकाइचीको प्रशंसा गर्दै उनलाई ‘अत्यन्त सम्मानित र बुद्धिमान नेतृ’ भनेका थिए ।
प्रधानमन्त्री बनेपछि ताकाइचीका अगाडि धेरै चुनौतीहरू रहनेछन् । जस्तै, सुस्त अर्थतन्त्रलाई गति दिनु, अमेरिका–जापान सम्बन्धमा देखिएको खटासलाई सुधार्नु, र विभाजित सत्तारूढ पार्टीलाई एकताबद्ध गर्नु ।