सानिमा बैंक लिमिटेडको आइतबार २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अध्यक्षता बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले गरेका थिए । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, संस्थापक सेयरधनीहरूको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई २१औं वार्षिक साधारण सभाबाट निर्विरोध सञ्चालकमा पुनः निर्वाचित गरिएको छ ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिसम्म बैंकको कुल सम्पत्ति २६३.५५ अर्ब रुपैयाँ, कुल निक्षेप २२५.४८ अर्ब रुपैयाँ, र खुद कर्जा सापटी १८३.४५ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेपमा १३.०९ प्रतिशत, कर्जा सापटीमा ११.२२ प्रतिशत, र कुल सम्पत्तिमा १२.७० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ ।
वित्तीय परिसूचकका आधारमा २०८२ असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ३.०१ प्रतिशत, पुँजी कोष १३.०१ प्रतिशत, तरलता ३०.९५ प्रतिशत, र कर्जा–निक्षेप अनुपात (मासिक औसत) ८१.०३ प्रतिशत रहेको छ ।