हिमालयन लाइफका सीईओ मनोज कुमार लाल कर्णले राजिनामा दिएका छन् । कर्णले दिएको राजिनामा सोमबार बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो । कर्ण हिमालयन लाइफको पैसा सीमित व्यक्तिको स्वार्थमा प्रयोग गरेको भन्दै विवादित छन् ।
नेपाल पुनर्बिमा कम्पनीको २ करोड १४ लाख ७५ हजार कित्तामध्ये सबैभन्दा धेरै हिमालयन लाइफको नाममा रहेको देखिएको छ । भदौ १५ को तथ्यांकअनुसार हिमालयन लाइफले ६ अर्ब रुपैयाँ बराबरको ३६ लाख ४६ हजार कित्ता सेयर होल्ड गरेको थियो । हिमालयन लाइफको ७९ अर्ब रुपैयाँ लगानीमध्ये नेपाल रिमा साढे ७ प्रतिशत लगानी छ । जीवन बिमा कम्पनीले सूचीकृत संस्थाको सेयरमा १५ प्रतिशत लगानी गर्न पाइनेमा आधा एउटै कम्पनीमा देखिन्छ ।
जथाभावी लगानी गरेर कम्पनीलाई हानी नोक्सानी पुराएको आरोप कर्णमाथि छ । साथै अभिकर्तालाई प्रतिस्पर्धा कम्पनी बराबर पनि बोनस दिन नसकेको, लगानी विविधिकरण गर्दै सेयरधनीलाई पर्याप्त प्रतिफल पनि दिन नसकेको आरोप कर्णले खेप्दै आएका थिए । अभिकर्ताले सीईओ कर्णसँगै हिमालयन लाइफको अध्यक्ष सुलभ अग्रवालको पनि राजिनामा माग्दै आएका छन् ।
चौतर्फी दबाब आएपछि कर्णले राजिनामा दिएकामा सोमबारको बोर्डले स्वीकृत गरेको स्रोतले जानकारी दियो ।