• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • ६ वर्षपछि सटडाउन भयाे अमेरिकी सरकार

६ वर्षपछि सटडाउन भयाे अमेरिकी सरकार

  • बुधबार, अशोज १५, २०८२
६ वर्षपछि सटडाउन भयाे अमेरिकी सरकार

अमेरिकाकाे संघीय सरकार औपचारिक रूपमा बन्द ‘सटडाउन’ भएको छ। सरकार सञ्चालनका लागि बजेट प्रस्ताव पारित गर्न असफल भएपछि ट्रम सरकार सटडाउन भएकाे हाे । लामाे समयदेखि रिपब्लिकन र डेमोक्र्याटबीच ओबामाकेयर (अफाेडेबल केयर एक्ट) का लागि थपिएको अनुदानमा विवाद चलिरहेको थियो, जसले गर्दा २०१९ पछि पहिलोपटक अमेरिकी सरकार बन्द भएको हो। दुबै पार्टीका नेताहरू सार्वजनिक र निजी रूपमा यो संकटको जिम्मा अर्को पार्टीमाथि हालिरहेका छन्। सटडाउन कति लामो चल्न सक्छ भन्ने कसैलाई थाहा नभएपछि मंगलबार राति सिनेट सदस्यहरू पूर्ण अनिश्चिततासहित घर फर्किएकाे सिएनएनले उल्लृख गरेकाे छ ।

बुधबार रिपब्लिकनहरूले पुनः त्यही प्रस्ताव अघि ल्याउने तयारी गरेका छन् भने जसलाई पारित गराउन उनीहरू डेमोक्र्याटहरूलाई बारम्बार दबाब दिँदैछन्। तर धेरै डेमोक्र्याटहरूले स्पष्ट रूपमा आफुहरू नझुक्ने बताएका छन् ।

यसअघि पनि ट्रम्प राष्ट्रपति हुँदा अमेरिकामा सटडाउन भएको थियो। ट्रम्पको पहिलो कार्यकालको दुई महिनापछि सन् २०१८ को डिसेम्बरमा संघीय कोषमा कंग्रेसले सहमति जुटाउन नसक्दा ३५ दिनको आंशिक सटडाउन भएको थियो।

साढे ७ लाख सरकारी कर्मचारी बिदामा

सरकार बन्द हुँदा यसको प्रभाव संघीय कर्मचारीहरू र जनसाधारणको सेवामा गम्भीर रूपमा पर्नेछ। करिब ७५०,००० संघीय कर्मचारीहरूलाई बिदा मा पठाइनेछ, जसले गर्दा उनीहरूले दैनिक झन्डै ४० करोड अमेरिकी डलर बराबरको तलब गुमाउनेछन्। अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरू भने काममा जानुपर्नेछ, तर उनीहरूले तलब संकट अन्त्य नहुन्जेल पाउने छैनन्। केही सेवाहरू भने अघिल्लो वर्षको बजेटबाट जारी रहनेछन्।

यस सटडाउनका कारण धेरै संघीय सेवाहरूमा अवरोध आउनेछ। केही राष्ट्रिय पार्कहरू बन्द हुने वा सीमित सेवा मात्र प्रदान गर्नेछन्। यदि सम्बन्धित राज्य एजेन्सीहरूसँग प्रशासकीय कोष पर्याप्त छ भने सामाजिक सुरक्षा, बेरोजगारी भत्ता, मेडिकेयर र मेडिकेडजस्ता सेवा भने निरन्तर चल्नेछन् । भूतपूर्व सैनिकहरूका लागि आत्महत्या रोकथाम, बेघर सहायता कार्यक्रम, भत्ता र राष्ट्रिय समाधिस्थलमा गाड्ने कामजस्ता अत्यावश्यक सेवाहरू जारी रहनेछन्।

तर जीआई बिल हेल्पलाइन, सिभिलियन जीवनमा रूपान्तरण सहायता कार्यक्रम, समाधिस्थलको हेरचाह तथा टाउकोपत्थर स्थापनाजस्ता कार्य भने सरकार खुला नभएसम्म स्थगित हुनेछन्।

ओबामाकेयर अनुदान के हो?

२०२१ मा बाइडेन प्रशासनले कोभिड राहत योजनाअन्तर्गत ओबामाकेयरमा बीमा प्रिमियम अनुदान थपेको थियो। यसले मध्यम वर्गका लागि बीमा किन्न सजिलो बनाएको थियो भने २४ मिलियन अमेरिकी नागरिकहरूलाई बीमा योजनामा दर्ता हुन प्रेरित गरेकाे छ।

यदि अनुदान समयमै नविकरण भएन भने, २०२६ मा औसत प्रिमियम ७५ प्रतिशतले बढ्नेछ भन्ने अनुमान गरिएको छ।

 

Facebook Comments

सम्बन्धित समाचार