• होमपेज
  • बैंकिङ्ग
  • सिटीपे अब फोनेपेको क्युआर नेटवर्कमा, १७ लाखभन्दा बढी आउटलेटमा भुक्तानी सम्भव

सिटीपे अब फोनेपेको क्युआर नेटवर्कमा, १७ लाखभन्दा बढी आउटलेटमा भुक्तानी सम्भव

  • मङ्लबार, भदौ १७, २०८२
सिटीपे अब फोनेपेको क्युआर नेटवर्कमा, १७ लाखभन्दा बढी आउटलेटमा भुक्तानी सम्भव

नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक फोनेपेले सिटीपे डिजिटल वालेटलाई आफ्नो पारिस्थितिकी प्रणालीमा एकीकृत गरिएको दशौँ वालेटका रूपमा औपचारिक रूपमा स्वागत गरेको छ। यस महत्वपूर्ण साझेदारीले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल कारोबार प्रणाली निर्माण गर्ने फोनेपेको अभियानमा नयाँ उचाइ थपेको छ। अबदेखि सिटीपे वालेट प्रयोगकर्ताहरूले फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्युआर ९त्तच्० नेटवर्कमा पहुँच प्राप्त गर्नेछन्। यसको अर्थ, उनीहरूले देशभर १७ लाखभन्दा बढी व्यापारी आउटलेटहरूमा सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्नेछन्।

हाल फोनेपेले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूलाई जोडेको छ र डिजिटल वालेटहरूलाई पनि आफ्नो प्रणालीमा समेट्दै आएको छ। यसले लाखौँ प्रयोगकर्ताहरूलाई सुरक्षित, भरपर्दो र तत्काल डिजिटल कारोबारको सेवा दिन सक्षम भएको छ।

सिटीपेलाई स्वागत गर्दै, फोनेपेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिवस कुमारले भने, ‘हाम्रो पारिस्थितिकी प्रणालीमा सिटीपे स्वागत गर्नु हाम्रो यात्रामा एक महत्वपूर्ण कदम हो। प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई बलियो, समावेशी र जनताका लागि अझ उपयोगी बनाउँछ। हाम्रो उद्देश्य केवल वालेट र बैंकहरूलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्ति र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउनु हो।’

त्यसैगरी, सिटीपेका सीइओ बिनय रेग्मीले उक्त साझेदारीको महत्वबारे भनाइ राख्दै भने, ‘यो केवल प्रविधि सम्बन्धी सहकार्य होइन। यो लाखौं रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउने प्रयास हो। सिटीपे र फोनेपे सँगै लाखौं प्रयोगकर्ता र व्यापारीहरूलाई सहज, सुरक्षित र तुरुन्त कारोबार गर्न सक्षम बनाउनेछन्।’

यस साझेदारीको अवसरमा, सिटीपेले फोनेपे नेटवर्कमार्फत गरिने कारोबारमा आधारित विशेष ‘पर्व अभियान’ पनि सार्वजनिक गरेको छ। सेप्टेम्बर २ देखि नोभेम्बर २, २०२५ सम्म सिटीपे वालेटमार्फत गरिने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा सहभागिता जनाउनेछ।

अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुईवटा सामसङ टेलिभिजन जित्न सक्नेछन्। विजेताहरू मासिक रूपमा सार्वजनिक गरिनेछन्।

त्यसैगरी, रु ५०० भन्दा माथिको हरेक क्युआर कारोबारमा सिटीपेले २० रिवार्ड पोइन्ट दिनेछ, जुन प्रयोगकर्ताले कम्पनीको नीति अनुसार नगद वा वस्तुमा रूपान्तरण गर्न सक्नेछन्।

सिटीपेको यो समावेशीकरणले डिजिटल भुक्तानी पारिस्थितिकी प्रणाली अझ मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ। नेपाल नगद रहित अर्थतन्त्रतर्फ तीव्र रूपमा अग्रसर भइरहेका बेला यस्ता सहकार्यहरूले प्रविधिमा नवप्रवर्तन, सेवाको अन्तरसञ्चालन, र सबै वर्गलाई वित्तीय पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको भनाइ छ।

यसरी, फोनेपे र सिटीपेको सहकार्यले डिजिटल कारोबारलाई थप सुरक्षित, समावेशी र प्रयोगकर्तामैत्री बनाउँदै नेपालमा फिनटेक क्रान्तिको गति अझ तीव्र बनाउने देखिन्छ।

Facebook Comments

सम्बन्धित समाचार