• होमपेज
  • विकास बैंक
  • मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा कार्यालय उद्घाटन

मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा कार्यालय उद्घाटन

  • बुधबार, भदौ ११, २०८२
मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा कार्यालय उद्घाटन

मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–४, धुम्बाराही (चिलिमे टावर) स्थित नयाँ शाखा कार्यालयको समुद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले सोमबार एक विशेष समारोहका बीच उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

यसअघि जमलमा रहेको शाखालाई स्थानान्तरण गर्दै बैंकले नयाँ स्थानबाट आधुनिक सुविधा र उत्कृष्ट ग्राहक सेवासहित वित्तीय कारोबार सुरु गरेको छ । उद्घाटन समारोहमा बोल्दै कार्यकारी निर्देशक पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि सजग रहन सुझाव दिएका थिए । साथै उनले नयाँ शाखाबाट गुणस्तरीय सेवा प्रदान गर्न शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सञ्चालक उमेश आचार्यले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी गराए । त्यस्तै, निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले मुलुकको अर्थतन्त्र सबलीकरणका लागि बैंक र नियामक निकायले अख्तियार गर्नुपर्ने रणनीतिबारे धारणा राखे ।

समारोहको सभापतित्व बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । धन्यवाद ज्ञापन गर्दै मल्लले सेवाको गुणस्तरमा निरन्तर सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नयाँ र आधुनिक भवनबाट सञ्चालनमा आएको यो शाखा कार्यालय रिङ्गरोडसँग जोडिएको छ र पर्याप्त पार्किङ सुविधा पनि रहेको छ, जसले ग्राहकलाई सहजता हुने बैंकले विश्वास व्यक्त गरेको छ । उद्घाटन समारोहमा बैंकका वर्तमान तथा पूर्व सञ्चालक, संस्थापक तथा सेयरधनी, विभिन्न क्षेत्रका व्यक्तित्व, ग्राहक र स्थानीयवासीहरूको उपस्थिति थियो ।

Facebook Comments

सम्बन्धित समाचार