मोरङ उद्योग व्यापार संघको टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा।डा। विश्वनाथ पौडेललाई भेट गरी निजी क्षेत्रको प्रवर्द्धन तथा हकहितका लागि विभिन्न नीतिगत तथा संरचनागत सुझावहरू समेटिएको सुझाव पत्र हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, वाणिज्य उपाध्यक्ष अनिल सारडा लगायत उद्योगी तथा व्यवसायीहरू सम्मिलित टोलीले विराटनगरस्थित राष्ट्र बैंकको प्रादेशिक कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भई गर्भनर पौडेल समक्ष औपचारिक रूपमा सुझाव पत्र पेश गरेको हो।
अध्यक्ष राठीले सुझाव पत्र प्रस्तुत गर्दै निजी क्षेत्रका विद्यमान चुनौतीहरूको समाधानका लागि यथोचित नीति तथा व्यवस्था ल्याउन आग्रह गरे।
उनले लगातार दुई वर्ष घाटामा देखिएका उद्योग तथा व्यवसायका ऋणहरूलाई प्रोभिजन गर्दा ‘बुक लस’ भन्दा ‘क्यास लस’ लाई आधार मानिनुपर्ने, साथै डेब्ट–इक्विटी अनुपात मिल्ने प्रतिष्ठानहरूलाई खराब कर्जाको श्रेणीमा नराख्नुपर्ने सुझाव दिए।
यस्तै उनले औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानलाई कारोबारको प्रवृत्तिका आधारमा ६० प्रतिशतसम्म चालु पूँजी कर्जा उपलब्ध गराउने, निर्यातकर्ताहरूलाई विदेशी मुद्राको विनिमय दरमा ३–५ प्रतिशतसम्म थप प्रोत्साहन दिने, बैंकिङ कारोबारलाई अवरोध नपुग्ने गरी बैंकहरूको वार्षिक विदा अधिकतम १३ दिन कायम गर्ने, नेपालीलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (जस्तैः पेपल, स्क्रील आदि) प्रयोग गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने, वित्तीय कारोबार गर्ने सहकारीहरुको अनुगमन, नियमन तथा सुपरीवेक्षण कार्यलाई अझ प्रभावकारी ढंगले अघि बढाउँदै सहकारीको कारोबारलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउनु पर्ने आदि सुझावहरु प्रस्तुत गरेका थिए ।
गर्भनर प्राडा विश्वनाथ पौडेलले संघद्वारा प्रस्तुत सुझावहरूलाई सकारात्मक र समय सान्दर्भिक भएको भन्दै आवश्यक गृहकार्य गरी यथासम्भव सम्बोधन गरिने प्रतिबद्धता जनाए।
संघका अध्यक्ष राठीले निजी क्षेत्रको विकासमै मुलुकको आर्थिक समृद्धि निहित भएकोले, राष्ट्र बैंकले नीतिगत सहजीकरणमार्फत उद्योग व्यवसायलाई थप गतिशील बनाउने वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे।