सिटिजन्स बैंकले मधेश प्रदेशमा शाखा–प्रबन्धक र अन्य सहकर्मीहरूका लागि ‘मधेश लिडरसिपः ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्स’ शीर्षकमा सेमिनार सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति थियो ।
सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो छलफल भयो । बैंकले यस्तै कार्यक्रम अन्य प्रदेशमा पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म सिटिजन्स बैंकले कर्जा, निक्षेप र खुद ब्याज आम्दानीका सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ । यस अवधिमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड थियो। निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भई कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब बढी हो ।
खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात ८१.९१ प्रतिशत कायम रहँदा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत रहेको बैंकले जनाएको छ।