निजी क्षेत्रले निर्माण गर्न लागेको मुलुककै सबैभन्दा ठूलो जलविद्युत आयोजनामा लगानीको टुंगो लागेको छ। आयोजनामा बैंकहरुले आधा खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएका छन्। ३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा अरु ८ बैंक र अर्को एक कम्पनीले ५२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सम्बन्धमा बिहीबार काठमाडौंमा एक समारोहबीच सम्झौता भएको छ।
सम्झौतामा बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आयोजनाको प्रवर्धक कम्पनी टाइम्स इनर्जीका तर्फबाट साहस ऊर्जाका निर्देशक सुशील थापाले हस्ताक्षर गरे। टाइम्स इनर्जी साहस ऊर्जाको सहायक कम्पनी हो। सम्झौता अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब रूपैयाँ लगानी गर्ने भएको छ।
यस्तै सह-नेतृत्व गर्ने लक्ष्मी सनराइज बैंकले ८ अर्ब, नबिलले ८ अर्ब, ग्लोबल आइएमईले ७ अर्ब, माछापुच्छ्रेले ४ अर्ब, सिटिजन, नेपाल इन्फ्रास्ट्रक्चर र प्रभु बैंकले ३/३ अर्ब, कृषि विकास बैंकले २ अर्ब ५० करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपलमेन्ट कम्पनी (एचआईडीसीएल)ले ४ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन्।
अर्थमन्त्री विष्णु पौडेल र ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा साढे ५२ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरिएको हो। आयोजनामा प्रति मेगावाट २० करोड ५३ लाख रुपैयाँका दरले ७० अर्ब खर्च हुने प्रक्षेपण छ। आयोजनामा २५ प्रतिशत अर्थात १७ अर्ब ५० करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ। स्वपुँजीमध्ये ५१ प्रतिशत लगानी साहस ऊर्जाको हुनेछ। व्यावसायिक उत्पादन थालेको ५.५४ वर्षमा लगानी फिर्ता गर्ने कम्पनीको दाबी छ। आयोजनाको निर्माण आगामी पुसबाट सुरु गर्ने तयारी अनुसार काम अगाडि बढाइएको साहस ऊर्जाका अध्यक्ष हिम पाठकले जानकारी दिए।
हिम पाठक
जग्गाको मुआब्जाबापत कम्पनीले ५५ करोड रुपैयाँ वितरण गरेको छ। आयोजनामा पहुँच मार्ग विस्तारको काम सम्पन्न भइसकेको छ। कम्पनीले स्थानीयका लागि बेलिब्रिज आफैं बनाइदिएको छ। निजी क्षेत्रले निर्माण गर्न लागेको यो अहिलेसम्मकै ठूलो आयोजना हो। निजी क्षेत्रले अहिलेसम्म ८६ मेगावाट भन्दा बढी क्षमताको आयोजना बनाएको छ। निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो जलविद्युत आयोजना सोलु दूधकोसी हो। साहस ऊर्जा कम्पनीले नै २०७९ माघ अन्तिममा सोलु दूधकोशी जलविद्युत आयोजना सम्पन्न गरेको थियो। यो आयोजना अहिले सञ्चालनमा छ। ५ मेगावाट क्षमताको रुरु जलविद्युत आयोजनाको प्रवर्धक पनि यही कम्पनी हो।
निजी क्षेत्रले बनाउने २८५ मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना माथिल्लो तमोरमा २०८१ जेठ २४ गते फाइनान्सियल क्लोजरमा हस्ताक्षर भए पनि अहिलेसम्म काम अगाडि बढेको छैन। साहस ऊर्जा बुढीगण्डकी जलविद्युत आयोजनाको लाइसेन्स किनेको डेढ वर्षपछि लगानी जुटाउन सफल भएको हो। साहस ऊर्जाले २०८० माघ १ गते आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राको लगानी रहेको टाइम्स इनर्जीसँग २०० करोड रुपैयाँमा आयोजनाको लाइसेन्स किनेको थियो।
कम्पनीले बुढीगण्डकी जलविद्युत आयोजनाको बिजुली बेच्न नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद/बिक्री सम्झौता (पीपीए) यसअघि नै गरिसकेको छ। आयोजनाको बिजुली प्रति युनिट मुख्य सुक्खा समय (पिक ड्राइ सिजन)मा १०.५५ रुपैयाँ, सामान्य सुक्खा समय (ड्राइ सिजन)मा ८.४० रुपैयाँ र वर्षाको समय (वेट सिजन)मा ४.८० रुपैयाँका दरले खरिद गर्ने सम्झौता छ। आयोजना गोरखाको धार्चे-१ र ३ तथा चुमनुब्री गाउँपालिका-३ मा निर्माण हुनेछ। आयोजनाको बाँधस्थल र जलाशय मनास्लु संरक्षण क्षेत्रको दक्षिणी सुरुवाती भाग चुमनुब्रीमा पर्छ। बाँकी संरचना मनास्लु संरक्षण क्षेत्र बाहिर निर्माण गर्ने कम्पनीले जनाएको छ।
आयोजनाको डिजाइन डिस्चार्ज १००.२७ घनमिटर प्रति सेकेण्ड छ। बाँधका कारणले करिब २ किलोमिटर लामो जलाशय बन्नेछ। जसमा १७ लाख ६० हजार घनमिटर पानी भण्डारण हुनेछ। आयोजनामा साढे ६ किलोमिटर लामो सुरुङ मार्ग बनाउन प्रस्ताव गरिएको छ। जुन फगत गाउँबाट सुरु भइ भिन्चेत गाउँमा पुगेर टुंगिन्छ। तातोपानी गाउँ नजिकै बुढीगण्डकी नदीको बायाँ किनारमा भूमिगत विद्युत गृह बनाउन प्रस्ताव गरिएको छ। जसमा ६०.४३ मेगावाट क्षमताका ६ वटा टर्बाइन रहनेछन्। आयोजनाको कुल हेड ३९८ मिटर हुनेछ। दैनिक ५ घण्टाका दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिनेछ। आयोजनाले वार्षिक सरदर १८३७.१६ गिगावाट घण्टा बिजुली उत्पादन गर्ने अनुमान छ। उत्पादित ऊर्जालाई करिब ४५ किलोमिटर प्रसारण लाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ।
यस आयोजनाका मुख्य भौतिक संरचना भूमिगत हुने भएकाले भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्युन रहेको कम्पनीले जनाएको छ। पहुँचमार्ग र सुरुङको लम्बाइ छोटो तथा लोड सेन्टर नजिकै पर्ने कारण आर्थिक एवं प्राविधिकरुपमा आयोजना लगानीका लागि निकै आकर्षक भएको कम्पनीको दाबी छ। आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न भइसकेको छ। अहिले कन्ट्रक्सनका काम पनि सुरु भइसकेको छ। आयोजनाको व्यवसायिक उत्पादन मिति सन् २०३० सम्म छ।