सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार सानिमा बैंकले आगामी एक वर्षसम्म पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ, जसअन्तर्गत न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारमा सहयोग गरिनेछ । बैंकले २०७४ सालदेखि नै पाटन अस्पतालमार्फत विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । यस अभियानलाई थप सुदृढ बनाउँदै, बैंकले ‘नारी बचत खाता’ खोल्ने प्रत्येक ग्राहकका लागि मासिक रु १ को दरले ‘नारी राहत कोष’मा रकम संकलन गर्दै आएको छ । सो कोषमा संकलित रकम देशभरका विभिन्न अस्पतालमार्फत प्रयोगमा ल्याइँदै आएको छ ।
पाटन अस्पतालको परिसरमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सानिमा बैंक हाल देशभर सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।