प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्ने धेयले आगामी भदौ २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गर्न लागिएको बताउनुभएको छ ।
स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर व्यवस्थापिक–सङ्घ (आइपियू) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एसिया प्रशान्त क्षेत्रमा जलवायुका असरहरूसँग सम्बन्धित अर्को कार्यक्रम गर्नेबारे छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसद्का तर्फबाट अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेकोबारे पनि सम्मेलनमा छलफल भएको छ । भदौको २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गर्नेछौँ ।”
सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन यही साउन ११ गते जेनेभा प्रस्थान गर्नुभएको थियो । यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना भएको सम्मेलनका क्रममा उहाँले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको थियो ।