• होमपेज
  • कृषि
  • मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

  • बिहिबार, साउन १६, २०८२
मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा सुक्खाको समस्या बढिरहेको भन्दै समाधानका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिमा आज मधेस प्रदेशलगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान गर्न मन्त्रालयबाट भएका काम कारबाहीबारे आयोजित बैठकमार्फत समितिका सभापति कमलादेवी वन्तले निर्देशन दिनुभएको हो । उहाँले तत्काल मधेसको समस्या समाधान गर्न नसके कृषि क्षेत्रमा ह्रास आउनुका साथै जनताले खानेपानी अभाव झेल्नुपर्ने उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न आवश्यक बजेटको व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
“मधेसमा देखिएको सुक्खाको तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्या समाधानका लागि उपसमिति गठन गरिएको छ”, उहाँले भन्नुभयो ।
समितिका सदस्य उर्मिला अर्यालको संयोजकत्वमा गठित उपसमितिका सदस्यहरुमा नारायणदत्त भट्ट, सावित्री मल्ल, शारदादेवी भट्ट र पूजा चौधरी रहनुभएको छ । बैठकमा सांसद नारायणकाजी श्रेष्ठले खानेपानी जनताको अत्यधिक आवश्यकताको विषय भएको जिकिर गर्दै यसलाई राज्यले प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।
“चुरे दोहनका कारण मधेसमा सुक्खा बढेको छ । पानीको हाहाकार सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “मानवसिर्जित यस्ता समस्या समाधान नभए अझै जटिल समस्या उत्पन्न हुनसक्छ । त्यसर्थ, चुरे संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक छ । मधेसको दीर्घकालीन समस्या समाधानमा राज्यले पहल गर्नुपर्छ ।”
सांसद वामदेव गौतमले तराईका आठ जिल्लामा देखिएको सुक्खासम्बन्धी समस्या तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद उर्मिला अर्यालले चुरे क्षेत्रमा बढ्दो अतिक्रमणका कारण चुरे विनाश भई भूमिगत पानीको स्रोत सुक्दै जाँदा सुक्खाको समस्या देखिएको बताउनुभयो ।
खानेपानी मन्त्रालयका निमित्त सचिव कमलराज श्रेष्ठले मधेसमा खानेपानीको समस्याका कारण ट्याङ्करमार्फत पानी वितरण भइरहेको जानकारी दिनुभयो । “खानेपानी समस्या समाधान गर्न सरोकारवालासँग छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । बिग्रिएका खानेपानी आयोजना र डिप बोरिङलाई चाँडोभन्दा चाँडो मर्मत गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।
Facebook Comments

सम्बन्धित समाचार