• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • फेसबुकको मूल कम्पनी मेटाको आम्दानीमा उछाल

फेसबुकको मूल कम्पनी मेटाको आम्दानीमा उछाल

  • बिहिबार, साउन १६, २०८२
फेसबुकको मूल कम्पनी मेटाको आम्दानीमा उछाल

फेसबुकको मूल कम्पनी मेटाले आफ्नो नाफामा उछाल आएको बताएको छ। कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई)मा अर्बौँ डलर थप लगानी गरिरहेको पनि घोषणा गरेको छ। फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपको पनि मुल कम्पनी रहेको मेटाले जुनसम्मको ३ महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा आम्दानी २२ प्रतिशतले बढेर ४७.५ अर्ब डलर पुगेको जनाएको छ। त्यस्तै, नाफा ३६ प्रतिशतले बढेर १८.३ अर्ब डलर पुगेको जनाएको छ।

सोही अवधिमा कम्पनीको खर्च पनि बढिरहेको छ। खर्च १२ प्रतिशतले बढेर २७ अर्ब डलर पुगेको बताइएको छ।

कम्पनीका सीईओ मार्क जुकरबर्गको एआई महत्त्वाकांक्षा पूरा गर्न ठूलो रकम खर्च भइरहेको छ। खर्च अझै बढ्ने अपेक्षा पनि गरिएको छ। कम्पनीको सबैभन्दा धेरै खर्च सर्भर र डेटा सेन्टर लगायत पूर्वाधार निर्माण तथा कर्मचारीको पारिश्रमिकमा हुन्छ।

मेटाले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्नुअघि नै जुकरबर्गले इन्स्टाग्राममा भिडियो पोस्ट गरेका थिए। जसमा उनले ‘एआई सुपरइन्टेलिजेन्स’ नाम दिइएको प्रविधि विकास गर्ने आफ्नो योजना रहेको बताए।

उनले मेटाले व्यक्तिगत सुपरइन्टेलिजेन्स पनि विकास गर्ने बताएका छन्। यस्तो प्रविधिले प्रयोगकर्तालाई दैनिक जीवनका काममा सहयोग गर्नेछ।

प्रविधि अनुसन्धान र सल्लाहकार कम्पनी फोरेस्टरका माइक प्राउलक्सले मेटा हाल कमजोर भए पनि भविष्यका लागि सुरक्षित हुन खोजिरहेको टिप्पणी गरेका छन्।

मेटाले एआई क्षेत्रमा प्रतिस्पर्धा गर्ने प्रयास गर्दै आएको छ। ओपनएआई र गुगल जस्ता प्रतिद्वन्द्वी कम्पनीलाई पछ्याउन मेटाले लामाको चौथो संस्करण ल्याएको छ। तर, केही प्रयोगकर्ता र लगानीकर्ता भने त्यसमा त्यति उत्साहित छैनन्।

कम्पनीले प्रतिस्पर्धी कम्पनीका उत्कृष्ट एआई विज्ञहरूलाई ल्याउन १०० मिलियन डलरसम्मको पारिश्रमिक प्याकेज प्रस्ताव गरेको छ। साथै एआई कम्पनी स्केलएआईमा १४ अर्ब डलरभन्दा बढी लगानी गरेर सेयर किनेको छ भने सो कम्पनीका प्रमुख कार्यकारी एलेक्जान्डर वाङलाई आफ्नो अभियानको नेतृत्व गर्ने जिम्मा दिएको छ।

मेटाले आफ्नो विज्ञापन व्यवसाय सुधार गर्न पनि एआईको प्रयोग गरेको छ। तर, सुपरइन्टेलिजेन्स प्रविधि विकासको उच्च खर्चले केही विश्लेषकहरूलाई चिन्तित बनाएको छ।

बजार अनुसन्धान संस्था ईमार्केटरकी मिन्डा स्माइलीले मेटाले एआईमा गरेको लगानीले यसको विज्ञापन व्यवसायलाई बलियो बनाएको र आम्दानी बढाएको बताइन्।

उनले भनिन्, ‘तर, मेटाले आफ्नो एआई योजनामा गरेको अत्यधिक खर्चले लगानीकर्ताहरूलाई निरन्तर प्रश्न गर्न बाध्य पार्नेछ, किनकी उनीहरू छिटो प्रतिफल देख्न चाहन्छन्।’

Facebook Comments

सम्बन्धित समाचार