नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई कर्जा विस्तारमा समेत गम्भीर ध्यान दिन निर्देशन दिएको छ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको वर्तमान अवस्था र त्यसबाट उत्पन्न चुनौतीलाई सम्बोधन गर्न राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।
मौद्रिक नीतिको कार्यान्वयन तथा बैंकहरूको तयारी सम्बन्धी आयोजित छलफलमा गभर्नर डा. विश्वनाथ पौडेलले बैंकहरू केवल कर्जा असुलीमा सीमित नभई नयाँ कर्जा प्रवाहमा पनि सक्रियता देखाउनुपर्नेमा जोड दिए। उनले भने, “अहिले बैंकहरू असुलीमै केन्द्रित छन्, तर कर्जा विस्तार नभए अर्थतन्त्र गतिशील हुँदैन।”
छलफलमा गभर्नर पौडेलले बैंकिङ प्रणालीमा सुधारका लागि कार्यक्षेत्र परिमार्जन र युनिभर्सल बैंकिङको विकल्पबारे समेत धारणा राखे। ऊर्जा, कृषि र सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) मा लक्षित विशिष्टीकृत बैंकिङ प्रणालीतर्फ मोडिन राष्ट्र बैंकको नीति रहेको उनले बताए।
बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकबारे समेत विस्तृत छलफल भएको सहभागी बैंकरहरूले जनाएका छन्। लगानीकर्तालाई उपयुक्त एक्जिट प्लान सुनिश्चित गर्ने गरी बैंक र व्यवसायीको भूमिकालाई अलग गर्ने प्रस्तावबारे पनि चर्चा भएको थियो।
राष्ट्र बैंकले बैंकहरूलाई आगामी ६ महिनाको सम्पत्ति तथा दायित्व व्यवस्थापन योजना पेश गर्न निर्देशन दिएको छ। साथै, छिटो साधारणसभा सम्पन्न गर्न पनि निर्देशन दिइएको छ।
बुधबार बैंकका अध्यक्षहरूसँग पनि थप विस्तृत छलफल हुने जनाइएको छ। उक्त छलफलमा रणनीतिक योजना, बाफिया संशोधन र अन्य नीतिगत विषयमा बैंकहरूको धारणा संकलन गरिनेछ।