• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंकद्वारा विराटनगरमा उद्यमशीलना प्रवर्धनसम्बन्धी कार्यशाको आयोजना

नबिल बैंकद्वारा विराटनगरमा उद्यमशीलना प्रवर्धनसम्बन्धी कार्यशाको आयोजना

  • शुक्रबार, फाल्गुन ९, २०८१
नबिल बैंकद्वारा विराटनगरमा उद्यमशीलना प्रवर्धनसम्बन्धी कार्यशाको आयोजना

नबिल बैंक लिमिटेडले विराटनगरमा ‘नबिल एसएसई कनेक्ट : प्रदेशभर उद्यमशीलताको प्रवर्धन’ कार्यशालाको आयोजना गरेको छ। बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत बुधबार कार्यशालाको आयोजना गरेको जनाएको छ। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा आयोजित कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता प्रवर्धनका अवसर तथा चुनौतीबारे छलफल भएको थियो।

प्रदेशस्तरमा उद्यमशीलता प्रवर्धन गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने तथा उद्यमशीलता वातावरणलाई थप मजबुद बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको बैंकले जनाएको छ। बैंकले कार्यशालामार्फत उद्यमशीलता विकासलाई प्रवर्धन गर्दै नबिल एसएसईअन्तर्गतको प्रमाणपत्र कोर्सलाई मुलुकभर विस्तार गर्ने लक्ष्य लिएको छ। नबिल बैंकका सीइओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यक्रममा नबिल एसएसईबारे जानकारी गराएका थिए।

‘बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम सुरुआत गरेको हो, यो समाजप्रति उत्तरदायित्व बहन गर्ने एक माध्यम पनि हो,’ सीइओ ढुंगानाले भने। उनले कार्यक्रमको उद्देश्य मुलुकमा रोजगारी सिर्जना र युवा पलायन रोक्नु रहेको बताए। सोही अवसरमा ‘प्रदेशीय विकासमा उद्यमशीलताको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियामा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला थिए।

अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशको पर्यटन मन्त्रालयका सचिव घिमिरेले स्वदेशमै पुँजी तथा श्रम राख्न सक्नुपर्नेमा जोड दिए। उनले सरकारले पनि उद्यमशीलता प्रवर्धन गर्ने नीति तथा नियम निर्माणमा समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए। उद्यमशीलताका क्रियाकलापहरूले जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिँदै उनले लगानी प्रवर्धन तथा व्यवसाय वृद्धिका लागि सरकारले लगानी सम्मेलन आयोजना गर्नुपर्ने बताए। बैंकका अध्यक्ष पौडेलले बैंक सामाजिक उद्यमशीलता प्रवर्धनमा केन्द्रित रहेको जानकारी दिँदै उद्यमशीलताको इकोसिस्टम विकास गर्नुपर्नेमा जोड दिए। उनले नयाँ क्षेत्रमा प्रवेश गर्दा बजारको माग, लगानी र उद्यमीका क्षमताबारे विचार गर्न आवश्यक रहेको उल्लेख गरे।

पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. श्रेष्ठले विश्वविद्यालयले व्यावसायिक संस्थाहरूसँगको सहकार्यमा रोजगारी तथा नयाँ व्यवसाय सिर्जना गर्दै आएको बताए। उनले सोहीअनुसार विश्वविद्यालयले कार्यक्रम तथा पाठ्यक्रम विकास गरिरहेको जानकारी दिए। नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष निरौलाले स्थानीय व्यवसाय प्रवर्धन गर्दै स्वदेशी बजारको विकास गर्नुपर्नेमा जोड दिए। उनले महासंघले नव उद्यमी र बजारबीचको दूरी घटाउने गरी पहल गरिरहेको समेत बताए। उक्त अवसरमा नबिल एसएसई कार्यक्रमका सहभागीहरुले आफ्‌नो उद्यमशीलता यात्रा र नबिल एसएसईमार्फत प्राप्त ज्ञानले पुर्‍याएको सहयोगबारे चर्चा गरेका थिए।

त्यस्तै बैंकका अध्यक्ष पौडेल र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख डा. रामावतार शरणले कार्यक्रममा सहयोग पुर्‍याउने विज्ञहरूलाई सम्मान गरेका थिए। क्याम्पस प्रमुख डा. शरणले नबिल बैंक तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँगको साझेदारीमा संचालित नबिल एसएसई कार्यक्रम सफल रहेको तथा आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनेसरसिप कार्यक्रम संचालन गर्दै आएको छ। यस कार्यक्रमअन्तर्गत फेलोसिप कार्यक्रम तथा सर्टिफिकेट कोर्स संचालन भइरहेको छ।

 

Facebook Comments

सम्बन्धित समाचार