• बिहिबार, भदौ २, २०७९

कुमारी बैंकले केही समययता आक्रामक रुपमा व्यापार विस्तारदेखि वित्तीय अवस्था पनि सबल बनाउँदै आएको छ ।गत आर्थिक वर्षको चौथो त्रैमासमा करिब ४४ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल यस बैंकको शेयरधनीको कोणबाट निकै महत्वपूर्ण वितरणयोग्य मुनाफा पनि आक्रामक रुपमा वृद्धि भएको छ।

तरलता संकटले गुज्रिएको आर्थिक वर्ष ०७८/७९ मा पनि बैंकले दोहोरो अंकमा निक्षेप र कर्जा विस्तार गर्न सफल भएको हाे। निक्षेप २१ प्रतिशत माथि वृद्धि हुँदा कर्जा पनि ११ प्रतिशत माथि वृद्धि भएको छ।

कम्पनीलाई आधारभूत रुपमा बलियो बनाउन जगेडा कोषको निकै ठूलो महत्व हुन्छ । बैंकको जगेडा कोष रकम १ वर्षको अवधिमा २५ प्रतिशतले वृद्धि हुँदा संचित मुनाफा ४२ प्रतिशत माथिले वृद्धि भएको छ ।

प्रमुख आम्दानीको श्रोतको रुपमा रहेको खुद व्याज आम्दानीमा पनि करिब २६ प्रतिशतले वृद्धि हुनुले बैंक व्यवस्थापनको कुशलताको रुपमा लिन सकिन्छ ।

बैंकको संचालक समितिको अध्यक्षमा अमिरप्रताप ज.ब. राणा छन् भने संचालक समितिका अन्य सदस्यमा कृष्णप्रसाद ज्ञवाली, अनुराधा चौधरी र महेशप्रसाद पोखरेल छन् त्यस्तै संचालक समितिमा स्वतन्त्र संचालकमा गणेशप्रसाद पाठक कार्यरत छन् ।

बैंक उच्च व्यवस्थापनमा रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । बैंक संचालक समितिले कुमारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत खनाललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । चार्टर्ड एकाउन्टेन्ट खनालले छोटो समयमै बैंकलाई प्रगतिपथतर्फ अघि बढाउन सफल भएका छन् ।

सिद्धार्थ बैंकमा आठ वर्ष काम गरिसकेपछि उनी कुमारी बैंकमा सहायक महाप्रबन्धक बनेका थिए । उनी एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पनि थिए । ३९ वर्षको उमेरमा वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सफल खनाल सहायक महाप्रबन्धकबाट कुमारी बैंक प्रवेश गरे पश्चात उनी डीजीएम भए । त्यसपछिको दुई वर्षमा उनी डेपुटी सीईओबाट सीईओ बन्न सफल भएका छन् ।

बैंकमा सबैभन्दा ठूलो लगानी बैंक अध्यक्ष अमिरप्रताप ज.ब. राणाको रहेको छ। अध्यक्ष राणाको बैंकमा ३ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको छ भने दोश्रोमा कर्मचारी संचय कोषको नाममा ३ दशमलव ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । बैंकमा भाटभटेनी सुपर मार्केटको पनि लगानी रहेको छ । भाटभटेनी सुपर मार्केटको बैंकमा १ दशमलव ३२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

बैंकको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :

खुद मुनाफामा आकर्षक वृद्धि :
आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ९७ करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म २ अर्ब ८३ करोड खुद मुनाफा पुर्याउन सफल भएको छ । खुद मुनाफामा करिब ४३ प्रतिशत माथिको वृद्धि भएको छ । सम्पूर्ण वाणिज्य बैंकले औसतमा २३ प्रतिशतको मुनाफा वृद्धि गर्न सफल भएकोमा यस बैंकले औसत भन्दा राम्रो मुनाफा वृद्धि गर्न सफल भएको छ ।

प्रतिशेयर आम्दानीमा आकर्षक वृद्धि :
खुद मुनाफामा आकर्षक वृद्धिको कारणले गर्दा कम्पनीले प्रतिशेयर आम्दानी पनि वृद्धि गर्न सफल भएको छ। प्रतिशेयर आम्दानीमा ३५ प्रतिशत माथिको वृद्धि देखिएको छ । अघिल्लो वर्ष १४ रुपैयाँ २० पैसा रहेको प्रतिशेयर आम्दानी अहिले १९ रुपैयाँ २७ पैसा छ।

प्रमुख आम्दानीको श्रोतमा करिव २६ प्रतिशत माथिको वृद्धि :
बैंकहरुको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा करिब २६ प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ५ अर्ब ०७ करोड खुद व्याज आम्दानी गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ६ अर्ब ३८ करोड खुद व्याज आम्दानी पुर्याउन सफल भएको छ ।

संचालन मुनाफामा ३२ प्रतिशत माथिको वृद्धि :
संचालन मुनाफामा ३२ प्रतिशत माथिको वृद्धि हुँदै ३ अर्ब ९८ करोड पुगेको छ ।

वितरणयोग्य मुनाफामा निकै ठूलो वृद्धि :
वितरणयोग्य मुनाफा ६२ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ७७ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९ करोड थियो ।

जगेडा कोष बलियो हुँदै :
बैंकको जगेडाकोष २५ प्रतिशतले वृद्धि हुँदै गत आर्थिक वर्षको असार मसान्तसम्म ४ अर्ब ६१ करोड पुगेको छ भने संचित मुनाफा ४२ प्रतिशतले वृद्धि १ अर्ब ७७ करोड पुगेको छ ।

निक्षेप र कर्जा प्रवाह :
असार मसान्तसम्म बैंकले १ खर्ब ७६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा निक्षेप संकलन करिव २१ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह भने करिव ११ प्रतिशतले वृद्धि भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार