जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते आज शुक्रबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको हो ।
कम्पनीको जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।
यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।
यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्पmत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापक तर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारी सहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू। १०४ दशमलव ९७ रहेको छ ।
नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि ३०५ दशमलव २७ देखि ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।