• होमपेज
  • शेयर मार्केट
  • सिईडिबि हाइड्रोपावरको आईपीओ बिक्री खुला

सिईडिबि हाइड्रोपावरको आईपीओ बिक्री खुला

  • शुक्रबार, बैशाख १७, २०७८
सिईडिबि हाइड्रोपावरको आईपीओ बिक्री खुला

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गरेको हो ।

यो आईपीओ छिटोमा बैशाख २१ गते र ढिलोमा बैशाख ३१ गतेसम्म बिक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीको भनाई छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र  तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ ।

कम्पनीलाई आईपीओ विक्रीको लागि बोर्डले बैशाख २ गते अनुमति दिएको थियो । २०७४ साल असार २७ गते बोर्डमा आईपीओका लागि निवेदन दिएको कम्पनीले करिब ४ वर्षमा आईपीओ विक्रीको अनुमति पाएको हो । हाल ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपश्चात यो पूँजी ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । कम्पनीमा आईपीओ पश्चात संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणमा ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

कम्पनीद्वारा प्रबर्धित साङ्गे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना प्रबर्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी बृद्धि गरी ८८ करोड १३ लाख ८० हजार पुर्याउने प्रक्षेपण गरेको छ ।

आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म यस कम्पनीले ७ करोड ६६ लाख ६५ हजार खुद नाफा गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार