• होमपेज
  • बैंकिङ्ग
  • जोरपाटीको तरकारी बजारमा मेगा बैंकको क्यूआर कोड

जोरपाटीको तरकारी बजारमा मेगा बैंकको क्यूआर कोड

  • शनिबार, बैशाख ४, २०७८
जोरपाटीको तरकारी बजारमा मेगा बैंकको क्यूआर कोड

मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ बिस्तार गरिरहेको छ ।

नगदरहित कारोबारलाई क्रमशः बिस्थापन गरी डिजिटल भुक्तानीलाई प्रबर्धन गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले आज काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बंैक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी क्यूआरकोड भुक्तानी सेवाको औपचारिक शुभारम्भ गर्नुभयो । कार्यक्रममा ८० जना तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै नेपाल राष्ट्र बंैक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेलले नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरि नै प्राथमिकता दिइएको बताउँदै नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेकोमा आफूलाई खुसी लागेको बताउनुभयो । डिजिटल भुक्तानीको ब्यवस्थाले नेपाल पनि आधुनिकीकरणतर्फ गइरहेको उहाँले बताउनुभयो ।

मेगा बैंककी सिइओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना संक्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई मेगा बैंकले प्राथमिकता दिइरहेको बताउनुभयो । क्यूआर कोडबाट कारोबार गर्दा उत्पादक, बिक्रेता तथा खरिदकर्ता सबैलाई बैंकिङ प्रणालीमा जोडिनु पर्ने भएकोले गर्दा यसबाट हुने पारदर्शिताको कारण कसैलाई पनि असहज कारोबार नहुने बताउनुभयो । यसैगरी, सिइओ खुञ्जेलीले सहुलितपूर्ण महिला उद्यमी कर्जा, कृषि कर्जा लगायतको माध्यमबाट नेपालमा उत्पादनको वातावरण सिर्जना गर्न मेगा बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन पे नेटवर्क अन्तरगतको मेगा क्यूआर कोडबाट कारोबार गर्दा रकम सिधै बैंकिङ प्रणालीमा जाने हुँदा बैंक तथा प्रयोगकर्तालाई पनि सहज र सुलभ भइरहेको बताउनुभयो ।

यसैगरी, विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारका अध्यक्ष छबिलाल ओझाले १ सय ५० जनालाई आफूहरुले रोजगारी सिर्जना गरिरहेको जानकारी दिँदै मेगा बैंकसँग जोडिन पाउँदा अत्यन्तै खुसी भएको बताउनुभयो ।

कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्मा, प्रमुख लियाब्लिटी अफिसर जेनु थापा, प्रमुख कार्ड तथा वैकल्पिक च्यानल विभाग प्रमुख विश्व सिंह, जोरपाटी शाखाका प्रबन्धक कृष्ण श्रेष्ठ तथा एफ वान सफ्टका गु्रप चिफ अपरेटिङ अफिसर शिशिर पछाईं लगायतको पनि उपस्थिति थियो ।

तरकारी बजारमा क्यूआरकोड सेवा शुभारम्भ भएपछि ब्यवसायी तथा ग्राहकहरु निकै हर्षित भएका छन् । यो ब्यवस्थासँगै उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन । क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार