• होमपेज
  • अटो
  • ट्राफिकले काटेको चिटको पैसा मोबाइलबाट सिधै सरकारको खातामा

ट्राफिकले काटेको चिटको पैसा मोबाइलबाट सिधै सरकारको खातामा

  • आइतवार, कार्तिक १६, २०७७
ट्राफिकले काटेको चिटको पैसा मोबाइलबाट सिधै सरकारको खातामा

ट्राफिक कार्यालयले कारवाहीका लागि काटेको चिट(बिल)को पैसा तिर्न बैंक जानु नपर्ने  व्यवस्था लागू गर्न लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाहीमा परेका आम सवारी चालकले आफूले बोकेको मोबाइलबाटै सिधै नेपाल सरकारको राजस्व खातामा रकम दाखिला गर्न सकिने व्यवस्था गर्न लागेको हो ।

अबको १ महिनामा मादक पदार्थ सेवन (मापस)े तथा अन्य कारवाहीमा परेका सवारी साधन चालकलाई बैंकसम्म पुगेर राजस्व बुझाउनु पर्ने झण्झटबाट मुक्त गर्न सो व्यवस्था लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

‘अब कारवाहीमा परेका सवारी साधन चालकले राजस्व बुझाउनका लागि बैंकसम्म लाइन बस्न जानु पर्दैन,’ उनले भने ‘ अब छिट्टै नै हामी आम ग्राहकले तिरेको राजस्व नेपाल सरकारको राजस्व खातामा सिधै जम्मा हुने व्यवस्था गर्दैछौं ।’ ढिलोमा १ महिनाभित्र हामी विद्युतीय प्रणालीमार्फत  सरकारको खातामा राजस्व दाखिला हुने व्यवस्था मिलाउँदै छौं ।’

अहिले पनि कार्यालयले आम ग्राहकलाई सुविधा दिन हराएको डकुमेन्ट तथा बिलहरूको भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था मिलाएको छ । अहिले भने अनलाइन कारोबारबाट भएको रकम कार्यालयको खातामा जम्मा भएपछि नेपाल सरकारको खातामा जाने गर्छ भने नयाँ व्यवस्था लागू भएपछि राजस्व सिधै नेपाल सरकारको खातामा जम्मा हुन्छ ।

हाल कोभिडको बेलामा पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक दुईदेखि ३ लाख रुपैयाँसम्म राजस्व उठाउने गरेको छ । कोभिड अगाडी दैनिक ७ देखि ८ लाखसम्म राजस्व संकलन हुने गरेको प्रवक्ता यादवले बताए । वर्षमा हामीले २० देखि २५ करोडसम्म राजस्व उठाउने गरेका छौं ।’

८ सयभन्दा बढी सवारी साधनमा भाडादर टाँसियो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजो शनिबारसम्म आठ सयभन्दा बढी सार्वजनिक सवारी साधनमा भाडादर टाँस गरेको छ । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको हो । शनिबार दोस्रो दिनसम्म आठ सयभन्दा बढी सवारी साधनमा भाडादर टाँस्न गरिएको महाशाखाका प्रवक्ता यादवले बताए ।

सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो आम नागरिकबाट आएपछि त्यसको व्यवस्थापन गर्न र यात्रुलाई गन्तव्य स्थलसम्मको भाडादर थाहा पाउन सहयोग पुगोस् भनेर उक्त अभियान थालिएको यादवले जानकारी दिए । उपत्यकाभित्र र उपत्यका बाहिर जाने सवारी साधनमा समेत नेपाल सरकारले तोकेको भाडा दर टाँस गर्ने उनले बताए ।

यात्रुबाहक सवारी साधनले तोकेकोभन्दा बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्नेजस्ता गुनासो आएपछि कार्यालयले कारवाही प्रक्रियालाई थप कडाइ गर्दै अनुगमन समेत थालेको हो ।  साथै महाशाखाले ठूलो आवाज निकाल्ने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने  सवारी साधनलाई पनि कारबाही अभियान थालेको छ ।

सडक र सवारी प्रयोगकर्तालाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार