• होमपेज
  • अन्तरवार्ता
  • अहिले नाफा नोक्सान र हिसाब किताब हेर्ने बेला होइन

अहिले नाफा नोक्सान र हिसाब किताब हेर्ने बेला होइन

प्रद्युमन पोखरेल, प्रथम उपाध्यक्ष डेभलपमेन्ट बैंकर्स एशोसिय नेपाल एवं सीइओ मुक्तिनाथ विकास बैंक लिमिटेड

  • आइतवार, चैत्र ३०, २०७६
अहिले नाफा नोक्सान र हिसाब किताब हेर्ने बेला होइन

प्रद्युमन पोखरेल चिनाई राख्नुपर्ने नाम होइन । नेपालको बैकिङ्ग इतिहासमा २६ वर्ष विताउका पोखरेलले एक दर्जन बैंक र विकास बैंकमा उच्च पदमा रहि कार्य सम्पादन गरिसकेका छन् । नेपालको सबैभन्दा ठूलो विकास बैंक मुक्तिनाथ विकास बैंकका सीइओ हुन प्रद्युमन पोखरेल । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका प्रथम उपाध्यक्ष समेत रहेका पोखरेल सालिन स्वभाव र सोच विचार गरेर निर्णय गर्ने बैंकरहरुको सूचि भित्र पर्दछन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।
यस्तो अवस्थामा पनि नेपालका विकास बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका विकास बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेका छन् । यस्तो अवस्थामा मुक्तिनाथ विकास बैंकले खोलेर सेवा दिएको छ ।

मुक्तिनाथ विकास बैंक मात्रै खुलेका छन् कि कारोबार पनि भइरहेको छ । बैंकका कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ र नेपालका विकास बैंकहरुले कसरी सेवा दिइरहेका छन् भनेर जानकारी लिन डेभलपमेन्ट बैंकर्स एशोसियन नेपालका प्रथम उपाध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका सीइओ प्रद्युमन पोखरेलसंग भूपेन्द्र आचार्यले गरेको कुराकानीः–

० हामीलाई थाहा नै छ कोरोना भाईरसको आक्रमणबाट विश्व नै त्रसित छ । हजारौले ज्यान गुमाएका छन् । लाखौं बिरामी छन् । नेपाल अहिले लकडाउन छ । यो विशम परिस्थितिमा मुक्तिनाथ विकास बैंकले कस्तो सेवा दिइरहेको अवस्था छ ?
अहिले आफै उच्च सचेत भएर सेवा दिनु पर्ने बेला छ । हामी ग्राहकहरुलाई पैसा झिक्न नपाएर औषधी र खाद्यान्न किन्न नपाइने अवस्था पटक्कै आउन दिने छैनौ । जीवनलाई जोखिममा राखेर जनतालाई सेवा दिईरहेका छौं ।

हामीले शुक्रबार र आईतबार सबै शाखा खोली सेवा दिएको अवस्था छ । अरु विकास बैंकले पनि ग्रामीण र शहरी सबै ठाउँमा यो दुखको घडीमा जीवनलाई जोखिममा राखी सेवा दिएका छौं र बचतकर्ताको उच्च मनोबल बनाउने काम गरेका छौं ।

० देश लकडाउन भएको अवस्थामा खुलेका बैंकका शाखामा काम गर्ने कर्मचारीहरुको स्वास्थ्य अवस्थाबारे चाहि के सोच्नु भएके छ, सीइओ साब ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी हाम्रा सम्पत्ती हुन् । सम्पत्तीको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । हाम्रो पहिलो प्राथमिकता भनेकै कर्मचारी साथीहरुको सुरक्षा नै हो ।

त्यसकारण सेनिटाइजर, माक्स र पञ्जाको पर्याप्त व्यवस्था गरेका छौं । ज्वरो नाप्ने मेसिनको व्यवस्था गरेका छौं । ज्वरो आएका ग्राहकहरुलाई बैंक प्रवेश निषेध छ । केही टाढाबाटै कारोबार गर्ने व्यवस्था मिलाईएको छ ।
उनीहरुलाई ल्याउने लैजाने व्यवस्था गरेका छौं ।

० मुक्तिनाथ विकास बैंक नेपालकै सबैभन्दा धेरै ग्राहक शाखा सञ्जाल र नाफा कमाउने बैंक हो । यस बैंक्ले स्थानीय तहमा एटिएम कार्ड नलिएका ग्राहकलाई कसरी सेवा दिएको छ ?
स्थानीय प्रशासनको सहकार्यमा हामीले प्रायः सबै ठाउँका शाखा निश्चित सेवा दिएका छौं । अर्को कुरा के छ भने अहिलेको परिस्थितिमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा धेरै कारोबार भएको छ ।

० कर्मचारी जो बैंक शाखा खोली सेवा दिएका छन् । उनीहरुको लागि राहतका प्याकेज ल्याउनु भएको छ त ?
यो विशम र अप्ठ्यारो बेला सबैले आ–आफ्नो ठाउँमा सेवा दिनुपर्दछ । यसको मुल्याङ्कन हामीले गर्ने हो । केही गर्ने हो कि भन्ने छलफल मै छौं नि ।

० राज्यले ग्राहकका लागि ल्याएको सहुलियतका प्याकेजलाई कसरी लिनु भएको छ ?
सकारात्मक छन् । तर, अपूग होला जस्तो देखिन्छन् । अर्को कुरा के छ भने राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ग्राहकहरुलाई चैत्रसम्म कर्जाको साँवा ब्याज हाल्न छुट छ । कुनै शुल्क हामी लिदैनौ । बैंक भनेको ग्राहकमुखी सेवा हो । ग्राहकलाई नगद चाहिए हामी तुरुन्तै दिन तयार छौं ।

मैले अगाडी नै भनिसके चैत्र मसान्त भरी छुट छ । हामीले फोन गरेका छैनौ । राष्ट्रिय समस्या आएको छ । कोरोना भाइरसले देश लकडाउनमा छ यो हामीले बुझेका छौं । हामी पनि यही समाजका मान्छे हौ । हामी सहयोग पक्कै गर्दछौं ।

० बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुको रिजल्र्ट आउने बेला हो । चैत्र मसान्त यसलाई चाही अब कसरी हेर्ने त ?
अहिले नाफा नोक्सान र हिसाब किताब हेर्ने बेला होइन । यो भन्दा माथीको कुरा छ । स्वास्थ्य यसबारे सबैले सोच्नु प¥यो । जनता तपाई, हामी परिवार बच्नुप¥यो । देश बचाउनु प¥यो । अरु कुरा त पछि भईहाल्छ नि । जीवन रहे सबै रहने हो  ।
देशको अवस्था राम्रो भएपछि सबै राम्रो हुन्छ । ढिलो चाडो नाफा कमाउला । हिजो भूकम्प पछि पनि हामीले प्रगति गरेकै हो । त्यसकारण यो अदृश्य शक्ति कोरोना भाईरसबाट पहिला बच्ने काम गर्नुप¥यो नि ।

० यस्तो महामारीको अवस्था छ । फेरी बैंक विकास बैंक र वित्तिय संस्थाले कसरी फड्को मार्ने देख्नु भएको छ ?
एउटा धुव्र सत्य के हो भने जति कालो रात आयो उति नै उज्यालो दिन हुन्छ । त्यसकारण आत्तिनु हुँदैन नयाँ गर्भनर साब आउनु भएको छ । फेरि नयाँ र उत्तम नीति आउने छ । सबै कुरा अध्ययन र अनुसन्धान गरेर सबै उपाय निश्कने निश्चित छ । डराउनु पर्ने, तर्सिनु पर्ने सकिहाल्यो भनेर चिच्याउनु पर्ने र आशु खसाई हाल्नु पर्ने छैन । अहिले संसार नै समस्यामा छ । यो बुझ्नु जरुरी छ ।

० राज्यले कोरोनाबाट लड्न स्थापना गरेको राज्यकोषमा कस्तो सहयोग छ । तपाईको बैंकको सीइओ साब ?
कुरा चलिरहेको छ । हाम्रो बैंकको बैंठक बसेको छैन । हामी एउटा निर्णयमा पुग्ने नै छौं । यो बेला सबै नेपाली एक भएर लाग्नु पर्दछ । सरकारलाई हाम्रो साथ सधै रहने नै छ ।

आउँदो आर्थिक वर्षको सामाजिक उत्तरदायित्व कोषबाट निकासा गरेर भए पनि केही राहत दिने पक्षमा हामी छौं ।
अर्को कुरा के महत्वपूर्ण छ भने पैसामा भन्दा अहिले अरु कुराको आवश्यकता बढेको छ । त्यो काम मुक्तिनाथ विकास बैंकले गरेको छ । हामीले स्थानीय तहमा राहत बाँडेका छौं । सल्यानको विकट ठाउँदेखि काठमाडौंका विभिन्न ठाउँमा ।

० अहिले यो विशम परिस्थितिमा विकास बैंकहरुले डिपोजिटका व्याजदर घटाएको अवस्था पनि छ नि कारण के होला ?
हो हामीले घटाएका छौं । निक्षेपमा कस्तीमा ५.७ बढिमा ६ बचत खातामा र मुद्दतीमा ९ प्रतिशत व्यक्तिगत तर्फ र संस्थागत तर्फ ८ प्रतिशत दिने निर्णय संघले गरेको छ । अर्को कुरा निक्षेपमा व्याजदर घटेपछि कर्जामा पनि घट्ने निश्चित छ । हाम्रो बैंकले त साना कर्जामा ब्याज यसभन्दा अगाडी नै घटाएको इतिहास छ । हामी ग्राहकमुखी बैंक हौं नि ।

० सीइओ साब, तपाई डाटा बेबमा कुरा गर्ने बैंकर मानिनुहुन्छ मलाई भनिदिनुहोस् । कोरोनाले देश फर्किएका लाखौं नेपालीले अब के गर्ने हो त ?
अत्यन्तै सान्दर्भिक र मार्मिक प्रश्न सोध्नु भयो । यसमा धेरै कुरा छन् । राज्यले तीन खम्बे नीति ल्याएर अब कृषिका उत्पादनलाई अगाडी ल्याउनु जरुरी छ । जुन जनशक्ति नेपाल आएका छन् । उसलाई कृषि उत्पादनमा लगाउनु पर्दछ । तपाईलाई थाहा छ । नेपालमा महिनामा साढे २ अर्बको चामल, १ अर्बको तरकारी, १ अर्ब बराबरकै फलफूल विदेशबाट आउने गरेको छ ।

यो सत्यलाई बुझि अबका दिनमा फाइनान्स, बैंक, विकास बैंक र गाउँगाउँका सहकारी संस्थाबाट कर्जा लिएर कृयिा उत्पादन बढाउन राज्य लाग्नु प¥यो । हामी राज्यलाई साथ दिन तयार छौं । यो जनशक्तिलाई अब विदेश पठाउनु हुँदैन । देशको काँचुली फेर्न तर्फ लगाउनु उचित होला । यसलाई राजनीतिक दल र तीनका नेताको इच्छा शक्ति हुनु पर्दछ । हामी त माध्याम मात्रै हौ । इमान्दारिता हुनुप¥यो । अर्को पक्ष कोरोनाको फाइदा पनि छ । त्यो हो परिवारसंग आएको जनशक्ति हाम्रो सम्पत्ती हो । यसलाई आफ्नै देशमा रोजगार दिनु प¥यो नि ।

० लकडाउनले नेपालमा कति फाइदा कति बेफाइदा पु¥यायो त सीइओ साब ?
फाइदा यस कारणले भयो कि समयमै राज्यले लकडाउन ग¥यो । रोग फैलन पाएन । रोगथामका काम भए । आज चीन पनि लकडाउनबाट बच्न सक्यो । अर्को कुरा ताईवान र सिंगापुरमा यसपाली पूर्व तयारीले क्षती कम भयो ।

उनीहरु बचेका छन् । उनीहरुले रोगसंग लड्ने सबैचीज पहिलानै व्यवस्था गरे । जसले उनीहरु खुसी छन् । स्वास्थ्य छन् । अस्पताल पुग्न परेको छैन । रोग आउने डरले सीमामा तत्कालै बन्द गरे । देश राईट समयमा लकडाउन नगरेको भए हामीले पनि ठूलोक्षती व्यहोर्नु पर्ने थियो नि । अहिले धेरैको टेस्ट भएको छ । आत्ति हाल्नु पर्ने देखिदैन नि । राम्रो पक्ष भनेको के छ भने हामी बिन्दास परिवारसंगै छौं । स्वास्थ्य छौं । घर भित्रै छौं । स्वास्थ्य के हो भन्ने बुझेका छौं ।

० कोरोना भाईरसको पाठ सिक्दै अब चाही के तयारी गर्नु पर्ला ?
हेर्नुहोस सबै कुरा भोगेका हामी नेपालीले लकडाउन भोगिरहेका छौं । यसबाट धेरैकुरा सिक्नु पर्दछ । एउटा उदाहरण म भन्दछु, जापान र जर्मनी दोस्रो विश्वयुद्ध पछि नाजुक अवस्थामा पुगेको थियो तर, २ दर्शक भित्र कति प्रगति भयो । यसबाट हामीले पनि सिक्नु प¥यो नि । रोगसंग लड्ने उपकरण, रोगथामका उपायको खोजी अब राज्यले गर्नु पर्ला । साना ठूला अस्पताल बनाउदै डाक्टर नर्स उत्पादन गर्नुपर्ला । यसका लागि हामी तयार छौं । बैंकहरुले कर्जा लगानी गर्दै र राज्यलाई साथ दिनपछि पदैनौ ।

० राष्ट्र बैंकले नयाँ गर्भनर पाएको छ । कस्तो आशा राख्नु भएको छ त ?
हामीले चाहेका राम्रा मान्छे गर्भनर पाएका छौं । उहाँ ३० वर्ष राष्ट्र बैंक भित्रै बसेर बैंकिङ्ग र वित्तिय प्रणालीलाई बुझेको मान्छे हुनुहुन्छ । अर्को कुरा नीति निर्माण गर्ने ठाउँ नेपाल लगानी बोर्डमा समेत काम गरि सकेको मान्छेबाट बैकिङ्ग क्षेत्रले ठूलो आशा गरेको छ ।
गर्भनर साब दक्ष, योग्य र क्षमतावान मान्छे हो । गर्भनरमा हुनुपर्ने गुण उहाँमा छ । यो विशम परिस्थितिमा आउनु भएको छ । हामी सहयोग गर्न तयार छौं । बैकिङ्ग प्रणाली खुशी छ । हामी आशावादी पक्कै पनि छौं ।

० अन्त्यमा लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अप्ठ्यारो समय हो । यो चाडो अन्त्य हुने विश्वास हामी सबैले गर्ने पर्दछ । सकारात्मक सोचौं । घरबाटै काम गरौ विश्व स्वास्थ्य संगठन र सरकारले दिएका निर्देशन पूर्ण रुपमा पालना गरौं । आफू बचौं, परिवार र जनता र देश बचाऔं । केही सिकौं । योग गरौं । किताब पढौ । नयाँ नयाँ सृजना गरौं देश र जनता आफू र परिवारलाई बचाउने जिम्मा तपाई हामी कै काँघमा आएकाले सचेत र सहज बनौ ।

Facebook Comments

सम्बन्धित समाचार