• होमपेज
  • कोरोना अपडेट
  • बैंकको नाफा भन्दा पनि यो बेला स्वास्थ्यको कुरा महत्वपूर्ण हो

बैंकको नाफा भन्दा पनि यो बेला स्वास्थ्यको कुरा महत्वपूर्ण हो

अनुपमा खुञ्जेली, सीईओ मेगा बैंक नेपाल लिमिटेड

  • आइतवार, चैत्र २३, २०७६
बैंकको नाफा भन्दा पनि यो बेला स्वास्थ्यको कुरा महत्वपूर्ण हो

अनुपमा खुञ्जेली नेपाली बैंकिङ्ग इतिहासमा चिनाई राख्नुपर्ने नाम होइन । नेपालकै इतिहासमा वाणिज्य बैंकहरुमा पहिलो महिला सीइओ भित्र खुञ्जेलीको नाम आउने गर्दछ ।

नेपालको चुक्ता पुँजी, ग्राहक सख्या र धेरै प्रोमोटर रहेको निजी क्षेत्रको ठूलो मेगा बैंक नेपाल लिमिटेडको सीइओ हुन् अनुपमा खुञ्जेली ।
नेपाका केही बैंकहरुले मात्रै पाउने गरेको ‘द बैंक अफ द एयर’ अवार्ड केही समय अगाडी यस बैंकले पाएको छ । २७ वाणिज्य बैंक मध्ये धेरै महिला कर्मचारी रहेको त्यसमा पनि सीइओ र डिपुटी सीइओ महिला नै रहेको बैंक मेगा बैंक नेपाल लिमिटेड नै हो भन्दा फरक नपर्ला ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । चैत्र २५ गतेसम्मका लागि सरकारले देशलाई नै लकडाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यस्तो अवस्थामा पनि नेपालको निजी क्षेत्रको ठूलो मेगा बैंक नेपाल लिमिटेडले सेवा प्रदान गरिरहेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु संचालन गरि सेवा दिइरहेको अवस्थ छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

शाखा खुलेको मात्रै छ कि कारोबार पनि भएको छ । बैंकको कर्मचरीको अवस्था कस्तो छ । कोरोना भाईरसका कारण बैंकिङ प्रणालीमा कस्तो असर पर्ने देखिन्छ र आगामी चैत्र महिनामा आउने बैंकहरुको नाफामा कस्तो असर पर्नेछ र राज्य कोषमा बैंकहरुले दिएको राहतबारे नेपालकै वाणिज्य बैंकको इतिहासमा प्रथम महिला सीइओ एवं मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीसंग  भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० नेपालको ठूलो चुक्ता पुजी र ग्राहक भएको मेगा बैंक नेपाल लिमिटेडले यो विशम परिस्थितिमा कसरी सेवा दिइरहेको छ ?
हामीले सबै शाखा प्रमुखहरुको फोन नम्बर सार्वजनिक रुपमै ग्राहकहरुलाई उपलब्ध गराएका छौं । किनभने मोबाईल बैकिङ्ग र एटिएमबाट कारोबार नभए सम्पर्क गर्नको लागि । अर्को कुरा केही शाखा खोलेर हामीले कारोबार गरेको अवस्था छ ।

हामीले तत्कालै चाहिने अत्यावश्यक सामाग्री खरिदको एलसी कारोबार, चेक क्लियरिङ्ग र रेमिटेन्सका कारोबार गरिरहेको अवस्था छ । यति मात्रै होइन हामी ग्राहकमुखी बैंक भएकोले ग्राहकहरुको डिपोजिट फोनबाटै लिने र कर्जा पनि चाहिए दिने अवस्थामा छौ नि ।

० यति धेरै शाखा सञ्जाल सञ्चालनमा छन् । बैंकका गार्ड, कर्मचारीहरुको सुरक्षाबारे चाहि के सोच्नु भएको छ ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । बैंकका कर्मचारी हाम्रा सम्पत्ती हुन् । उनीहरुको सुरक्षाका सबै उपाय हामीले अबलम्बन गरेका छौं । कर्मचारी र गार्डहरुको सुरक्षा चिन्दा बढेको पक्कै छ । तापनि यो बेला हामी बैंकरले सेवा दिनु पर्दछ भन्ने हाम्रो उद्देश्य हो ।

एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएममा पैसा निकाल्दा कुनै शुल्क लाग्दैन । यो सुविधा हामीले पनि दिएका छौं । बन्द हुँदैन २४ सै घण्टा खुल्ला छ । ढुक्क भए हुन्छ नि । गार्ड राखेका छौं । समस्या भए गार्डले खबर गर्ने व्यवस्था छ ।

त्यसकारण गार्ड, स्टाफहरुलाई तीन तीन दिनको ब्रेक गरेर काममा लगाएका छौं । अहिले प्रविधिको माध्यामबाटै डिजिटल बैकिङ्गमा काम धेरै भएको छ। हामीले डिजिटल हस्ताक्षर तयार गरी घरबाटै काम गर्ने वातावरण तयार गरेका छौं । यो नौलो अभ्यास पनि हो । कर्जाका ग्राहकहरुलाई र डिपोजिटका ग्राहकहरुलाई फोनबाटै कुरा गरेर समस्या समाधान गरेका छौं ।

कर्मचारी साथीहरुलाई सेनिटाईटर, माक्स दिएका छौं । एक पटक एउटा मात्रै ग्राहकलाई भित्र पठाउन गार्डहरुलाई भनेका छौं । भीड भाड छैन खासै कारोबार नै भएको छैन । घर भित्रै बस्ने बेला हो अहिलेको चिन्ता अर्थतन्त्रको होइन । जीवन बचाउने हो ।

० एटिएमबारे गुनासो बढेको छ, पैसा नहुने साँझपख नै बन्द हुने देखिन्छ नि ?
यस्तो पटक्कै छैन । हामीले एटिएम २/२ घण्टामा केन्द्रीय कार्यालयबाटै मनिटरिङ्ग गरेको अवस्था छ । पाँच लाख भन्दा कम रकम हुन साथ पैसा राख्ने व्यवस्था मेगा बैंकले गरेको छ । एटिएमहरुमा सेनिटाईजिङ्ग गरेका छौं ।

एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएममा पैसा निकाल्दा कुनै शुल्क लाग्दैन । यो सुविधा हामीले पनि दिएका छौं । बन्द हुँदैन २४ सै घण्टा खुल्ला छ । ढुक्क भए हुन्छ नि । गार्ड राखेका छौं । समस्या भए गार्डले खबर गर्ने व्यवस्था छ ।

० यस्तो कोरोना भाईरसको महामारीको बेला बैंक गएर काम गर्ने कर्मचारी साथीहरुका लागि के कस्ता सहुलियतका प्योकज ल्याउनु भएको छ सीईओ साब ?
समय अनुसारकै कुरा उठाउनु भएको छ । हामी हाम्रा कर्मचारी साथीहरुको लागि केही गर्ने पक्षमा छौं । बोर्डको बैठक बस्न सक्ने अवस्था नभएपनि डिजिडल बैठक गरि केही दिनमा निर्णय पक्कै दिने छौं ।

० राज्यले कोरोना भाईरस बिरुद्ध स्थापना गरेको कोषमा मेगा बैंक नेपाल लिमिटेडले कस्तो सहयोग गरेको छ ?
तपाईले भने जस्तो यो बेला हामी बैंकहरुको उत्तरदायित्व बढेको पक्कै छ । हामीले राष्ट्रिय कोषमा १ करोड दिएका छौं भने ७ वटै प्रदेशमा ५/५ लाख गरि ३५ लाख दिएका छौं । हाम्रा कर्मचारीहरुले पनि दिने हो । बोर्डका सदस्यज्यूहरुले पनि दिने कुरा पनि छ ।

यो बेला हामीले नगरे कसले गर्ने संसार आज रोहिरहेको छ । नेपाल त्रसित छ । हामी यही समाजका मान्छे । समाजलाई केही पर्दा हेरी बस्ने कुरा हुँदैन । हामीले सामाजिक उत्तरदायित्व कोषबाट खर्च गरेर यो बेला जनता र देश बचाउन केही गर्नु पर्दछ भनेर नै लागि परेको अवस्था छ नि । यो बेला स्वास्थ्यको कुरा महत्वपूर्ण हो । बैंक त फेरि मेहनत गरेर गरौला नि ।

० अहिले बैंकहरुको चैत्र महिनाको वित्तिय विवरण आउँदै छ । यो महामारीले यसमा कस्तो असर पर्ला ?
यो विशम र अप्ठ्यारो अवस्थामा नाफा र नोक्सानको कुरा हुँदैन । यो बेला जनता बचाउनु । आफू बच्नु मुख्य कुरा हो । बैंकहरुलाई असर पक्कै पर्ने देखिन्छ । तर, नाफा भन्दा मानव जीवन ठूलो कुरा हो नाफा पछि बनाउन सकिन्छ । यो बेला कर्जा गएको छैन । डिपोजिट पनि छैन । हामीले एलसी र केही बैंक ग्यारेन्टीका अत्यावश्यक भित्र पर्ने काम मात्रै गरेका छौं । नाफा घाटाको हिसाब पछि गरौंला अहिले बच्नु र बचाउनु नै मुख्य सवाल हो नि ।

ग्राहक बचे न बैंक बच्ने हो । त्यसकारण ग्राहकको स्वास्थ्य ठुलो कुरा हो । १० प्रतिशत छुटदिने कुरा छ । शुल्क नलिने कुरा छ । केही असहज पक्कै होला तर, समय अनुसार हामी चल्नु पर्दछ । अर्को कुरा बैंक बनाउन सकिन्छ । तर, साथ जनताकै चाहिन्छ नि ।

० कोरोनाको महामारीको पूर्व तयारी विश्व शक्तिशाली राष्ट्रले गरेको देखिदैन । हामीले त के यो गर्न सक्दछौं र अब यसबाट पाठ सिक्दै जाने हो कि ?
सहि प्रश्न गर्नु भयो, हामी नेपालीले जीवनमा लकडाउन देखेका थिएनौ । अरु कुरा भोग्दै आए पनि यो लकडाउनले सबै कुरा ठप्प छन् । यो कति लम्बिने हो त्यसमा भर पर्दछ ।

हामीले मात्रै होइन बिश्वका शत्तिशाली र सम्पन्न राष्ट्रहरुले समेत पूर्व तयारी गरेका थिएनन् । हामीले त केपो गर्न सक्दछौं । अब यसको पाठ सिक्दै मान्छेको स्वास्थ्य सबै भन्दा ठूलो कुरा रहेछ नि ।

त्यसकारण यस्ता रोगसंग उपचार गर्ने पूर्वाधारको तयारी गर्नु पर्दछ । यसका लागि राज्य हामी बैंकसंगै अगाडी बढ्नु पर्ने देखिन्छ । कोरोना भईरस बिरुद्ध सबै एक भएर मुक्ति पाउनु पर्ने देखिन्छ । त्यसकारण घरबाटै सूचना प्रविधिको माध्यामबाटै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हनुहुन्छ । एटिएम एउटा माध्यम मात्रै हो । सबै भन्दा सुरक्षित भनेको घर भित्रैबाट काम गर्नु हो ।

० राज्यले बैंक ग्राहकहरुका लागि ल्याएको राहतका प्याकेज प्रयाप्त छन् त ?
यो समयले देखाउने हो । लकडाउन लम्बियो भने फेरि केही गर्नु पर्ने अवस्था पक्कै छ । यतिले मात्रै पुग्दैन । यसमा राज्य सचेत र सजक पक्कै होला । हामी राज्यलाई यो विशम र विपतको बेला साथ दिने हो । हामी राज्यसंगै छौं । हातमा हात मिलाएर कोरोना भाईरस बिरुद्ध लड्न बैंक र बैंकरहरु तयार छन् ।

० विश्वव्यापी रुपमा फैलिएको हजारौंको ज्यान लिएको र लाखौं कोरोना बिरुद्ध लडिरहेको बेला विश्व अर्थतन्त्रमा ठूलो क्षती पुगेको समाचार आएका छन् । यसले नेपालको बैंकिङ्ग क्षेत्रमा चाही कस्तो असर गर्ला ?
बैंकिङ्ग प्रणाली देशको अर्थन्त्रको मेरुदण्ड हो । त्यसकारण विश्व बजारको असर त पक्कै हामीमा पर्ने प्रस्टै छ । बैंकिङ्ग प्रणाली मात्रै होइन देशको अर्थतन्त्रलाई नै ठूलो क्षती पुग्ने देखिन्छ । अहिले हाम्रा धेरै व्यवसाय बन्द छन् । पर्यटन ठप्प छ । रेमिटेन्स ठप्प छ । प्रोजेक्ट चलेको छैन, यसले सिधै बैकिङ्ग प्राणालीमा असर पर्ने प्रस्टै छ नि ।

यसले संसारलाई छोएको छ । हामी पनि अब अछुतो पक्कै भएनौ । एडिवीले ५.३% ले अर्थतन्त्र झरेको बताएको छ । समालिएर काम गरेपछि अर्थतन्त्र पक्कै बन्ला बैंकको सूचक फेरि बन्लान । जीवन रहे बैंक रहने हो । त्यसकारण अहिले अर्थतन्त्रका कुरा भन्दा पनि मानवीय क्षतीका कुरा गरिनु पर्दछ ।

० अन्त्यमा लाखौ ग्राहक र करोडौं नेपाली जनतालाई चाहि के भन्नु हुन्छ त ?
विश्वव्यापी फैलिएको कोरोना भईरसको महामारीबाट बच्ने समय हो । परिवार र आफ्नो जीवनको स्वास्थ्यबारे सोच्ने समय हो । त्यसकारण राज्यले दिएको सबै कुरा पालना गरौं ।

आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध लडिरहेका छन् । त्यसकारण सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । स्वास्थ रहौं । सुखी रहौं । अहिलेको पहिलो आवश्यकता भनेको नै जीवनर्लाइ बचाउने र अरुको जीवन प्रति चनाखो हुने नै हो । भन्न चाहान्छु ।

Facebook Comments

सम्बन्धित समाचार