• होमपेज
  • कोरोना अपडेट
  • एटिएममा कारोबार कम भएको छ तर बन्द कहिले हुँदैन

एटिएममा कारोबार कम भएको छ तर बन्द कहिले हुँदैन

ज्ञानेन्द्र प्रसाद ढुंगाना, पूर्व अध्यक्ष नेपाल बैंकर्स एशोसियशन, सीइओ नेपाल बंगलादेश बैंक

  • सोमवार, चैत्र १७, २०७६
एटिएममा कारोबार कम भएको छ तर बन्द कहिले हुँदैन

ज्ञानेन्द्र प्रसाद ढुंगाना नेपालको बैकिङ्ग क्षेत्रमा अब्बल नाम हो । बैकिङ्गलाई नजिकबाट बुझेका ढुंगाना पूर्व नेपाल बैंकर्स एसोसियशनका अध्यक्ष समेत हुन् । उनी नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत छन् ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि २५ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।
यस्तो अवस्थामा पनि नेपालका वाणिज्य बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

बैंकहरु मात्रै खुलेका छन् कि कारोबार पनि भइरहेको छ । बैंकको कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ ? नेपाल बैंकर्स एसोशियसनका पूर्व अध्यक्ष एवं नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानासंग भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० देश लकडाउनको अवस्थामा वाणिज्य बैंकहरुले कस्तो सेवा दिएको अवस्था छ ?
हामीले सेवा दिएका छौं । यो विशम परिस्थितिमा पनि बैंकरहरुले सेवा दिनु आफैमा राम्रो पक्ष हो । ग्राहकहरुको संख्या कम छ । एलसी, बैंक ग्यारेन्टी जस्ता सेवा पनि दिएका छौं । हामीले भनेका छौं । घरबाट बाहिर नजानु होस् । डिजिटल बैंकिङ्ग सेवाबाटै कारोबार गरौं भनेर ।
० सेवा त दिनु भएको होला । तर, कोरोनाको संक्रमण बढेको बेला कर्मचारीहरुलाई सुरक्षा चाही कसरी दिनु भएको छ ?
कर्मचारीहरु हाम्रा सम्पत्ती हुन् । पहिलो दायित्व कर्मचारी साथीहरुको स्वास्थ्य कै हुन्छ । त्यसकारण सेनिटाईटर, माक्स दिएका छौं । एक पटक एउटा मात्रै ग्राहकलाई भित्र पठाउन गार्डहरुलाई भनेका छौं । भीड भाड छैन खासै कारोबार नै भएको छैन । घर भित्रै बस्ने बेला हो अहिलेको चिन्ता अर्थतन्त्रको होइन । जीवन बचाउने हो । साच्चै भन्नुपर्दा अहिलेको चिन्ता भनेको आफू बच्नु र अरुलाई पनि बचाउनु हो ।

० एटिएममा शुल्क दिएको ४/५ बजे नै एटिएम मेसिनहरु बन्द भएको र अधिकाशं एटिएममा पैसा नभएको गुनासो राष्ट्र बैंक पुगेको छ नि कारण चाहि के हो ?
कुनै गुनासो कतै पुगेको छैन । २७ वटै हामी वाणिज्य बैंकका एटिएम २४ सै घण्टा खुल्ला रहन्छन् । प्रसस्त पैसा छ । एटिएममा कारोबार कम भएको छ । मान्छेहरु सतर्क भएर एटिएमसम्म पनि गएको अवस्था छैन । हामीले एटिएम मेसिनहरुमा सेनिटाइजर गर्नु भनेर गार्डहरुलाई भनेको छौं । अर्को कुरा बैंकका एटिएममा पैसा झिक्दा कुनै शुल्क लिदैनौ । बन्द कहिले हुँदैन एटिएम । पैसा राख्दा केही घण्टा बन्द हुनु स्वभाविक होला । तर, तपाईले भने जस्तो कुरामा सत्यता पटक्कै छैन ।

हामीले केन्द्रीय कार्यालयबाटै कन्ट्रोल गरिरहेका छौं । ट्रान्जेक्स नै छैन । अति कम छ अनि कसरी पैसा हुँदैन एटिएममा । केही दाल चामल, औषधी किन्न त एटिएमबाट पैसा झिक्ने हो नि ।

० राज्यले कोरोना भाईरस बिरुद्ध स्थापना गरेको कोषमा तपाई बैंकरहरुको सहयोग कस्तो छ त ?
यो बेला बैंक खोलेर चलाउनु, जनतालाई पैसाको अभाव हुन नदिनु नै पहिलो सेवा हो । हामी बैंकहरुले सामाजिक उत्तरदायित्व कोषबाट खर्च गरेर केही सामाग्री दिएका छौं ।

एनबी बैंक हामीले माक्स दियौ । सनराईज बैंक्ले औषधी लगायतका सामान दियो । एनआईसी एशिया बैंकले खाद्यान्न सामाग्री दिएको छ । यो पहिलो सेवा हो अरु कुरा भविष्यमा दिने हो । अर्को कुरा राज्यको कोषमा केही बैंक र बैंकरहरुले पैसा दिएक छन् । हामी पनि यहि समाजका मान्छे हौं । हाम्रो दायित्व यहि समाजमा छ । त्यसकारण यो अप्ठ्यारो असहज र विसम परिस्थितिमा बैंक र बैंकरले राज्यलाई साथ दिनुपर्दछ । हामीले दिने नै छौं । बैठक बस्नु प¥यो । बिस्तारै दिने कुरा दिने हो । घरबाट बाहिर नजाउ, आफु पनि बचौं र अरुलाई पनि बचाउ ।

० राज्यले हालै ल्याएको बैंक ग्राहकहरुका प्याकेजलाई कसरी लिनु भएको छ ?
यो हाम्रै सल्लाह र सुझावमा आएका सहुलियतका प्याकेज हुन् । हामीलाई राष्ट्र बैंकले निर्देशन नै दिएको अवस्था छ । यो लागु गर्ने कर्तव्य हामी सबै बैंकरको हो । असार मसान्तसम्म साँवा र ब्याज तिर्ने समय दिएको छ । यो बीचमा तिरे १० प्रतिशत छुटको व्यवस्था पनि गरिदिएको छ । अप्ठ्यारो अवस्थामा ग्राहकलाई साथ सहयोग हामी बैंकर र बैंकले दिनु हाम्रो पहिलो कर्तव्य नै हो ।

० विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसले नेपाली अर्थतन्त्रलाई चाही कस्तो असर पर्ला ?
मैले अगाडी नै भनिसके यो बेला चिन्ताको विषय भनेको मानव क्षतीलाई बचाउनु, आफू बच्नु र अरुलाई पनि बचाउनु हो । त्यसकारण अर्थतन्त्र आज नभएर भोलि राम्रो होला । तपाईले भनेजस्तो विश्व अर्थतन्त्रमा असर परेपछि नेपालमा नपर्ने कुरै भएन । रेमिटेन्स ठप्प छ । कलकारखाना, उद्योग धन्दा, व्यापार व्यवसाय सबै ठप्प छ । राज्यले सुन, मंहंगा गाडी खरिद नगर्न आग्रह गरेको छ । त्यसकारण अर्थतन्त्र भोली बनाउला । आज जीवनलाई सुरक्षीत बनाउने हो । त्यसकारण घरबाटै काम गरौं । बाहिर नजाऔं । स्वास्थ्य जीवन विताउ ।

० फेरि लकडाउन बढेको छ । यसको असर बैकिङ्ग क्षेत्रलाई परेको देखिन्छ । तयारी कस्तो थियो ?
हामीले यो अवस्था आउदै छ भनेर पूर्व तयारीकै साथ बसेका थियौ । आयो अब कोरोना भाईरस बिरुद्ध सबै एक भएर मुक्ति पाउनु पर्ने देखिन्छ । त्यसकारण घरबाट सूचना प्रविधीको माध्यामबाटै डिजिटल बैकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हुनुहुन्छ । एटिएम एउटा माध्याम मात्रै हो । सबै भन्दा सुरक्षित भनेकै घर भित्रैबाट काम गर्नु हो ।

० अन्त्यमा केही छ ?
आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध लडिरहेका छन् । बिरामी छन् । त्यसकारण सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । जीवन रहे सबैहुन्छ । जीवन नरहे केही हुँदैन स्वास्थ रहौं । सुखी रहौं ।

Facebook Comments

सम्बन्धित समाचार