• होमपेज
  • विकास
  • चन्द्रौटा–कृष्णनगर चार लेनको सडक निर्माण सुस्त

चन्द्रौटा–कृष्णनगर चार लेनको सडक निर्माण सुस्त

  • शनिबार, चैत्र १, २०७६
चन्द्रौटा–कृष्णनगर चार लेनको सडक निर्माण सुस्त

चन्द्रौटा कृष्णनगर सडक चार लेन बनाउने निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । गत फागुनबाट शुरु भएको योजनाको एक वर्षमा २० प्रतिशत काम सकिएको छ । शुरुमा तीव्र गतिमा काम भए पनि हालसम्मको निर्माण प्रगति हेर्दा तोकिएको मितिमा यो सडक काम सम्पन्न हुने देखिदैन । एक वर्षमा पाँच प्रतिशतमात्र रकम खर्च भएको निर्माण कम्पनीले बताएको छ । चन्द्रौटादेखि कृष्णनगरसम्म यो सडकखण्ड २० किलोमिटर छ ।

दुईलेनको यस सडकमा २१ मिटर चौडाइमा चारलेन सडक निर्माण गरिने निर्माण कम्पनीका नवीन गुरुङले जानकारी दिनुभयो । रुख कटान, विद्युत्को खम्बा सार्ने, खानेपानीको पाइप व्यवस्थापन लगायतको कामले केही ढिलाइ भएको सडक सुधार विकास आयोजना लमहिका आयोजना प्रमुख सुबोधकुमार देवकोटाले बताउनुभयो । जटिल काम सम्पन्न भइसकेकाले बाँकी दुई वर्षमा चारलेन सडक काम सम्पन्न गर्न सकिने देवकोटाले बताउनुभयो । अहिले सडकमा ज्वाइन सर्वे, माटो फिलिङ, टप स्वाइलको काम सकिएको छ । सडक निर्माणमा पानी परेपछि एक हप्ता प्रभावित हुने गरेकाले पनि केही ढिलाइ भएको उक्त योजना परामर्श सेवाका इञ्जिनीयर रमेशलाल श्रेष्ठले बताउनुभयो ।

भारतीय सहयोग रहेकाले रकम निकासामा झन्झटिलो भएको हुँदा निर्माण कम्पनीलाई समस्या रहेको र समय अपुग भए केही समय थप गर्ने योजना रहेको उहाँले बताउनुभयो । सडक सुधार विकास आयोजना र एक्जिम बैंकबीच सडक निर्माणका लागि भएको सम्झौताअनुसार यो सडक निर्माण हुन लागेको हो । सम्झौतापछि यो सडकखण्डको ठेक्का कालिका दिनेशचन्द्र जेभीले लिएको छ । कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभी भारतीय हो । सडक निर्माणको ५१ प्रतिशत सामग्री भारतबाट आयात गरिने छ । भारतीय सीमासँग जोडिएको सडक चार लेन निर्माणसँगै दुई देशीय आयातनिर्यातमा सहज हुने विश्वास छ ।

यो आयोजना सक्न अझै २५ महिना लाग्ने निर्माण कम्पनी दिनेशचन्द्र कालिका कन्ट्रक्सन जेभीले जनाएको छ । सडकभित्र पर्ने ५१६ रुख काटिएको छ भने विद्युत्को खम्बा सार्ने काम भइरहेको छ । अब ग्राबेल गरी पिच भत्काउने काम शुरु हुने निर्माण कम्पनीले जनाएको छ । रु ७५ करोड बजेटमा निर्माण हुन लागेको चारलेन सडक निर्माणमा २२० ले रोजगारी पाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार