• होमपेज
  • विकास
  • तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु

तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु

  • मंगलबार, मंसिर १०, २०७६
तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु

त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबार चारदिने चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु भएको छ ।

जन गणतन्त्र चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा एकदेशीय व्यापार मेला सुरु भएको हो ।

आयोजक तिब्बत बोर्डर ट्रेड चेम्बरका अध्यक्ष लावा छिलेका अनुसार मेलामा चीनका ५० भन्दा बढी प्रदर्शकले स्टल राखेका छन् ।

मंसिर १२ गतेसम्म चल्ने मेलामा जौबाट बनेका खाद्य सामग्री, दुग्ध पदार्थ, मदिरा, वाइन, तिब्बती औषधी, हस्तकला, स्किन केयरसम्बन्धी उत्पादन, खेलकुद, कपडा, भवनका सामग्री, साइकल लगायतको स्टल राखिएको छ ।

नेपालमा लगानीको अवसर पहिचान गर्न चाहने चिनियाँ कम्पनीहरु पनि मेलामा सहभागी भएको अध्यक्ष छिलेले जानकारी दिए । यो मेलाले नेपाल र चीनबीचको व्यापार र आर्थिक सम्बन्ध अझ बलियो बनाउने विश्वास पनि उनले व्यक्त गरे ।

नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले मेलामा व्यवसायी–व्यवसायीबीच (बिटुबी) छलफल, समझदारीपत्रमा हस्ताक्षर लगायत कार्यक्रम रहेको बताए । मेलाको उद्देश्य उपभोक्तालाई वस्तु बिक्री गर्ने भन्दा पनि चिनियाँ वस्तुको क्रेता (बायर)लक्षित प्रदर्शनी गर्नु रहेको उनले बताए । त्यसैले चिनियाँ व्यवसायीले नेपाली व्यवसायीसँग आयात निर्यात अभिवृद्धि, लगानी लगायत विषयमा अन्तक्र्रिया गर्ने लक्ष्य लिएको तुलाधरको भनाइ छ ।

दुई चेम्बरबीच सन् २०१४ मा भएकोा समझदारी अनुसार दुवै मुलुकका उद्यमी, व्यवसायीले पालैपालो आफ्ना वस्तु अर्को मुलुकमा लगेर प्रदर्शन गरी दुईपक्षीय व्यापारको आकार बढाउन यसपालि चिनियाँ व्यवसायी नेपाल आएको बताइएको छ । आगामी अप्रिलतिर नेपाली व्यवसायीले तिब्बतमा आयोजना हुने यस्तै प्रकारको प्रदर्शनीमा स्टल राख्ने योजना छ ।

यो मेलाले दुई देशबीचको व्यापारिक क्रियाकलाप वृद्धि हुने र सदियौं पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्ध अझ प्रगाढ हुने आयोजक र सहयोगी संस्थाको विश्वास छ ।

Facebook Comments

सम्बन्धित समाचार