प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केहि समयभित्र जताततै सरकारमात्र देखिने बताउनुभएको छ ।
मंगलबार काठमाडौमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दे प्रधानमन्त्री ओलीले आफ्ना आलोचकहरुको कडा प्रतिवाद गर्दे केही दिनमै जता फर्कियो त्यतै सरकार देखिने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले अबदेखि यस्ता कार्यक्रमको शुभारम्भ नौमती बाजा बजाएर गर्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार जुम्रा मार्न र सिन्का भाँच्न नभएको भन्दै देश बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार खोइ भनेर खोज्नेहरुलाई मजदुर र दुःख पाएका जनतालाई सोध्न आग्रह गर्दे जता फर्कियो त्यतै सरकार देखिन थालेपछि विरोधीहरु चुप लाग्ने तर्क गर्नुभयो । प्रधानमन्त्री ओलीले निराश जनता देशका लागि खतरा हुने भएकाले जनतालाई निराश हुन नदिने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रपति, उपराष्ट्रपति राष्ट्रको गरिमा र लोकतन्त्रको उपज भएको बताउँदै उहाले ती संस्थाहरुलाई विवादमा ल्याइएकोमा चिन्ता व्यक्त गनुएभयो । विभिन्न तवरवाट लोकतन्त्र मास्न खोजिरहेको, परिवर्तन संस्थागत हुन नदिन अनेक प्रयत्न गरिरहेको, एकता, साम्प्रदायिकतामा खलल पुर्याउने कोसिस गरिरहेको उहाको भनाई छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेको जानकारी दिनुभयो । सामाजिक सुरक्षा कार्यक्रम २५ वर्षअघि एमालेको अल्पमतको सरकारले सुरु गरेको वृद्धभत्ता कार्यक्रमकै नयाँ आयाम भएको उहाले बताउनुभयो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त हुने बताउनुभयो । नेपालमा श्रमको सम्मान गर्दै थप रोजगारीको अवसर बढ्ने भन्दै उहाले नेपाली श्रम र सीपलाई बढाउदै लैजान योजना सहयोगि बन्ने विश्वास गर्नुभयो ।
सरकारले लाखाँै श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको हो । योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् । उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले अबदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ । निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १ सय ८० महीना वा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । सरकारले कार्यक्रमको घोषणा हुने दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ ।
https://youtu.be/kF-TdrpDaKs