• होमपेज
  • रोजगारी
  • पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री

पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री

  • सोमवार, अशोज २२, २०७५
पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताउनुभएको छ ।

सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क…’ को आज लोकार्पण गर्दै उहाँले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन प्रयत्नशील छ, तत्कालका लागि वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र कम जोखिमपूर्ण बनाइने छ ।”

नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्नु र विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउनु चुनौतीपूर्ण भएको बताउँदै उहाँले नेपालको श्रम, सीप, जोश र जाँगर नेपालकै विकासमा लगाइनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै उहाँले पूर्वाधार, आर्थिक, सामाजिक विकासमार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भूगोल र भावनामा विभक्त भएको दुई वटा नेपाललाई एक आपसमा जोड्न गीत, सङ्गीत महत्वपूर्ण माध्यम भएको बताउनुभयो । रोजगारीका लागि विदेशिएका युवालाई स्वदेश फर्काउनु चुनौतीपूर्ण रहेको स्वीकार्दै उहाँले जहाँ रहेपनि मातृभूमिको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सोमबार सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाई फर्क…’ को लोकार्पण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिरः अशोक घिमिरे, रासस

उहाँले नेपाली काँग्रेस नेतृत्वको सरकारका पालामा रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि स्पष्ट योजना बनाउन नसकिएको स्वीकार गर्नुभयो ।

सो अवसरमा वरिष्ठ सर्जक नारायण रायमाझीले सरकार तथा राजनीतिक दलले विदेशिएका युवालाई स्वदेश फर्कन आह्वान गर्न नसकिरहेको सन्दर्भमा यस गीतले मातृभूमिको समृद्धिका लागि सम्पूर्ण युवालाई नेपाल फर्कन आह्वान गरेको बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार