कृषि विकास बैंकलाई ‘किसानको बैंक’ पनि भनिन्छ । तर, सो बैंक किसानमैत्री हुन सकेको छैन । आर्थिक वर्ष २०७४÷७५ मा चिया तथा कफीमा गरेको लगानीबाटै सो कुरा प्रमाणित हुन्छ ।
आर्थिक वर्ष २०७४÷७५ असारसम्म बैंकले चिया तथा कफी उत्पादनमा रु २१ करोड ३० लाख लगानी गरेको छ । सो लगानीको झण्डै आधा चियामा लगानी हो । जबकी बैंकले यसवर्ष रु पाँच अर्ब ५५ करोड ५७ लाख मुनाफा आर्जन गरेको प्रवक्ता हिमलाल पौडेलले जानकारी दिनुभयो ।
चियाको हरियो पत्ती बिक्रीबाट किसानले रु एक अर्ब ७४ करोड २५ लाख १५ हजार ३६५ आम्दानी गरेका छन् । सिङ्गो एक बैंकले आर्जन गरेको मुनाफाभन्दा सो आम्दानी २१८ दशमलब ८३ प्रतिशतले कम हो । जबकी कूल खेती गरिएको जमीनमध्ये १२ हजार ६७ हेक्टर जमीनमा चियाखेती गरिन्छ । यो कूल खेती गरिएको जमीनको शून्य दशमलब ३९ प्रतिशत हो । खेतीयोग्य जमीनमध्ये हाल ३० लाख ९१ हजार हेक्टर जमीनमा खेती गरिएको छ । १० लाख ३० हजार हेक्टर जमीन बाँझो छ । कूल खेतीयोग्य जमीन ४१ लाख २१ हजार हेक्टर हो ।
खेती गरिएको जमीनमध्ये शून्य दशमलब ३९ प्रतिशत चिया खेतीमा प्रत्यक्ष तथा अप्रत्यक्ष झण्डै १५ लाख व्यक्ति रोजगारमा आबद्ध रहेको नेपाल व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ मा उल्लेख छ । १५ लाख हाराहारीमा रोजगार प्राप्त सो क्षेत्रमा कृषि विकास बैंकको जम्मा रु २१ करोड ३० लाख लगानी हुनुले कृषि विकास बैंक कृषिमैत्री बन्न नसकेको हो ।
रु एक अर्ब ७४ करोड २५ लाख १५ हजार ३६५ आर्जन गर्न १८ हजार १०० किसान चिया उत्पादनमा अहोरात्र खटेको पाइन्छ । हरेक नेपालीका भान्सामा दैनिक अनिवार्य पाक्ने दुई वस्तु चामल र चियामध्ये चिया अनिवार्य र सत्कारको वस्तु हो ।
चियामा बैंकले गरेको लगानी दामासाहीले १८ हजार १०० किसानलाई भाग लगाउँदा एक किसानको हातमा औसत जम्मा रु ११ हजार ७६७ ऋण लिएको देखिन्छ । माथिको तथ्यांकले नेपाली किसान व्यवसाय गर्न इच्छुक छन् तर जीवन धान्न र परम्परालाई थेग्नमात्र हो, भन्ने प्रमाणित हुन्छ ।
केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको सो सर्वेक्षणममा ६४ दशमलब ४ प्रतिशत चिया उत्पादक किसानले जीवन धान्न चियाखेती अङ्गालेको उल्ल्ोख छ । सर्वेक्षणले पाँच प्रतिशत किसान ऋण लिन बैंकको पहुँचमा पुगेको देखाएको छ । चिया तथा कफी विकास बोर्डका निर्देशक शेषकान्त गौतमले बैंकबाट ऋण प्राप्त गर्न किसानले ठूलै कसरत गर्नुपर्ने बताउनुहन्छ ।
सजिलै ऋण पाए आफू व्यावसायिक चिया खेतीमा लाग्ने किसानको संख्या भने ९५ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । ४८ प्रतिशत किसानले विभिन्न सहकारी संस्थाले तोकेको चर्को ब्याजमा ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।
“चियाखेती मेरो जीवनको आधार हो, भन्ने किसानलाई पनि बैंकले राम्रो धितो नभई लगानी गरेको पाइँदैन । खेतीपाती गरिएको जमीन धितो राखेर भन्दा शहर बजारको जग्गा वा पक्की घर धितो दिनेलाई बैंकले सजिलै ऋण लगानी गरेको गुनासो गर्नुहुन्छ चिया उत्पादक किसान हरेराम सुवेदी । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी पनि कृषि विकास बैंकले साना किसानलाई आवश्यकताका आधारमा ऋण लगानी नगरेकामा चिन्ता व्यक्त गर्नुहुन्छ ।
लगानीबिना उत्पादन बढ्न सक्दैन । उत्पादन नबढे कर सङ्कलनमा वृद्धि हुँदैन । करको दायर बढाउनसमेत कृषि विकास बैंकले साना किसानको लगानीमा वृद्धि गर्नु पर्दथ्यो । तर, सर्वेक्षणमा कृषि विकास बैंकको लगानी खुम्चिएको देखिन्छ ।
सर्वेक्षणले ४ दशमलब ५ प्रतिशत किसानले मात्र चियाखेती व्यवसाय दर्ता गरी सञ्चालनमा ल्याएको उल्लेख छ । बाँकी ९५ दशमलब ५ प्रतिशत किसान करको दायरा भन्दा बाहिर छन् । अर्थात १८ हजार १०० मा ४ दशमलब ५ प्रतिशत वा ८१४ जनाले मात्र कर तिरेर चियाखेती व्यवसाय सञ्चालन गरेका छन् भने चियाखेती गर्ने १७ हजार २८५ किसानले बैंकबाट ऋण प्राप्त गरेका छैनन् भने अर्कातर्फ उनीहरु करको दायरबाट बाहिर छन् ।
कृषि विकास बैंकसँग ऋण प्राप्त गर्न आन्तरिक राजश्व कार्यालयमा आन्तरिक लेखा नम्बर(प्यान) दर्ता गर्नुपर्छ । दर्ता भएपछि आयकार (आम्दानी कर) अनिवार्य तिर्नुपर्छ । तर, ऋण लिन चाहेर पनि लगानी गर्ने निकायले लगानी नगरिदिँदा करको दायरा पनि खुम्चिदै गएको हो ।
सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर रहेको कृषि विकास बैँक ‘किसानमैत्री’ हुन नसक्दा दिगो कृषि विकासमासमेत समस्या उत्पन्न भएको छ ।